INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन पूर्व तयारीबारे सुरक्षा निकायसँग छलफल

प्रतिनिधिसभा निर्वाचन ०८२ को पूर्वसन्ध्यामा निर्वाचनको समग्र अवस्था, सुरक्षा तयारी र शान्तिपूर्ण वातावरण सुनिश्चितताबारे सरोकारवालाहरुसँग भेटघाट गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नियोग र (निर्वाचन पर्यवेक्षण समिति नेपाल)का राष्ट्रिय पर्यवेक्षक गोविन्द बन्दीसहितको टोलीले फागुन १९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर प्रसाद उपाध्यायसँग भेटघाट गरेर जिल्लाको निर्वाचन पूर्वको अवस्थाका विषयमा जानकारी लिएको हो । त्यस्तै इन्सेकले प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटा र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख (एसपी) सुधीरराज शाहीसँग भेटघाट गरी प्रदेशभरको निर्वाचन पूर्वको अवस्था बारे जानकारी लिएको छ । भेटका क्रममा जिल्लाको समग्र शान्ति–सुरक्षा अवस्था, मतदानस्थलको संवेदनशीलता वर्गीकरण, सुरक्षा परिचालन, मौन अवधिको पालना तथा सम्भावित चुनौतीका विषयमा छलफल भएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । सुरक्षा निकायले निर्वाचनलाई भयरहित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराएको छ ।

प्रमुख जिल्ला अधिकारी उपाध्यायले निर्वाचनलाई स्वच्छ र विश्वसनीय बनाउन प्रशासन, सुरक्षा निकाय र सरोकारवाला सबै पक्ष समन्वयात्मक रूपमा अघि बढिरहेको बताउनु भयो । उहाँले मतदानस्थलमा आवश्यक जनशक्ति परिचालन, सुरक्षा संवेदनशील क्षेत्रको पहिचान तथा नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो । एसपी शाहीले जिल्लाका सबै मतदान स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरी र नेपाली सेना परिचालन गरिएको बताउनु भयो । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटाले प्रदेशस्तरबाट पनि सुरक्षा रणनीति प्रभावकारी रूपमा कार्यान्वयन भइरहेको उल्लेख गर्दै कुनै अवाञ्छित गतिविधि हुन नदिन कडाइ गरिएको बताउनुभयो । उहाँले कालिकोट, जुम्ला, रुकुमपश्चिम र डोल्पामा पर्यवेक्षण गर्ने संस्थाहरुले विषेश ध्यान दिनुपर्ने बताउनु भयो ।

राष्ट्रिय पर्यवेक्षक गोविन्द बन्दीले निर्वाचनको स्वच्छता, निष्पक्षता र मानवअधिकारको अवस्थाबारे अनुगमन गरिने जानकारी दिँदै सबै पक्षलाई आचारसंहिता पालना गर्न आग्रह गर्नुभयो ।

निर्वाचन नजिकिँदै जाँदा सुर्खेतसहित कर्णाली प्रदेशका जिल्लामा सुरक्षा निगरानी बढाइएको छ भने सरोकारवालाबीच समन्वयात्मक छलफललाई तीव्रता दिइएको छ ।

कर्णाली प्रदेश कार्यालय

भिडियो