फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा गरिएको निर्वाचनको पूर्वतयारीका सन्दर्भमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८२ फागुन १८ गते स्थलगत अनुगमन गरेको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा संयोजक खडकराज जोशीको नेतृत्वमा गएको अनुगमन टोलीले कैलाली जिल्ला क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत पुष्कलराज पसाई, क्षेत्र नम्बर २ का मतदान अधिकृत मेखराज भट्ट, क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत देवराज भारती, सशस्त्र प्रहरी बलका डिएसपी प्रदिप पौडेल र विभिन राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरुसँग भेटघाट गरी निर्वाचन पूर्वको तयारीका सन्दर्भमा छलफल गर्नुको साथै सूचनाहरु संकलन गरेको हो ।

कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ स्थिति निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत पुष्कलराज पसाईले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारीहरु पुरा भएको र कर्मचारीहरुलाई सम्बन्धित निर्वाचन केन्द्र र स्थलमा पठाएर निर्वाचन पूर्व गर्नु पर्ने स्थान छनौट, सूचना टाँसलगायतका कार्यहरु सम्पन्न गरिएको बताउनु भयो ।
हालसम्म निर्वाचन आचरसंहिता विपरितका कार्यहरु कुनै पनि पक्षबाट नभएको पाइएको, कहिकतैबाट उजुरी समेत नपरेकोले बिगतका निर्वाचनको तुलनामा यस पटकको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुने अपीक्षा गरिएको र यसका लागि सबै पक्षहरुको निरन्तर सहयोगको आवश्यकता रहेको समेत उहाँले बताउनु भयो ।

कैलाली जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ स्थिति निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत देबराज भारतीले यस क्षेत्रमा निर्वाचनको तयारीका लागि गरिनु पर्ने सम्पूर्ण कार्यहरु भइरहेको, निर्वाचन सम्पन्न भएपछि मतगणना स्थलको छानौट र मतगणना स्थलको सुरक्षाका लागि तारबेरा समेत लगाउने कार्य गरिएको र कर्मचारीहरुलाई निर्वाचन सामाग्री सहित सबै मतदान केन्द्र र स्थलमा पठाउने कार्य गरिएको बताउनु भयो ।
इन्सेक अनुगमन टोलीले लम्कीचुहा नगरपालिका –१० हिरापुरस्थित श्री राष्ट्रिय नवजागृत माध्यमिक विद्यालयमा राखिएको मतदान स्थलको समेत अनुगमन गरी पूर्वतयारीका सन्दर्भमा सूचनाहरु संकलन गरेको थियो । सो स्थलका मतदान अधिकृत मेखराज भट्टले निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्रीसहित कर्मचारीहरु मतदान स्थलमा आइसक्नुभएको र सामाग्रीहरुको सूची तयार गर्ने र मतदान केन्द्रहरु निर्माण गर्ने कार्य भइरहेको बताउनु भयो ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को सुरक्षा नेतुत्व गरिरहनुभएका शसस्त्र प्रहरी बलका डिएसपी प्रदिप पौडेलले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न मतदान स्थल र मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु खटाउने कार्य भइरहेको र हालसम्म यस क्षेत्रमा सुरक्षासम्बन्धी चुनौतीहरु नदेखिएको बताउनु भयो ।
अनुगमनका क्रममा बिभन्न राजनीतक दलका उम्मेदवार तथा कार्यकर्ताहरुसँग अनुगमन टोलीले भेटघाट गरी निर्वाचनलाई स्वाच्छ, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै राजनीतिक दलहरुको महत्वपूर्ण भूमिका रहने भएकोले अनुगमनका क्रममा भेटघाट गरिएका राजनीतिक दलका उम्मेदवार तथा कार्यकर्ताहरुलाई निर्वाचन आचारसंहिताको पूर्ण पालन गर्न समेत अनुरोध गरिएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खड्कराज जोशीले बताउनु भयो ।
अनुगमन टोलीमा इन्सेकका प्रदेश संयोजक जोशी, प्रलेख अधिकृत कृष्णबहादर विश्वकर्मा, इन्सेकका पर्यवेक्षक तथा एडभोकेसी फोरमका कैलाली जिल्ला संयोजक पुष्पविक्रम शाही र अपाङ्ग महासंघका सुदूरपश्चिम प्रदेश समितिका सचिव नरदीप धामीको सहभागिता रहेको थियो ।
