प्रतिनिधि सभा निर्वाचन २०८२ लाई मध्यनजर गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) राष्ट्रि«य निर्वाचन पर्यवेक्षण समिति (नियोक) को संयुक्त आयोजनामा ०८२ फागुन १५ गते इन्सेक गण्डकी प्रदेश पोखरामा निर्वाचन पर्यवेक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउन पर्यवेक्षकहरूको भूमिका, दायित्य र जिम्मेवारीबारे विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा निर्वाचन कार्यालयका प्रमुख नारायण ढकालले निर्वाचनको सबै काम सकिएको अब मतदान केन्द्रमा पुग्न मात्र बाँकी भएको जानकारी दिनुभयो । ढकालले पर्यवेक्षणमा पुग्दा स्वतन्त्र निष्पक्ष भएर अनुगमन गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन कार्यालय र पर्यवेक्षणको भूमीका भनेको निष्पक्ष भएर चुनाव सम्पन्न गराउने भएको समेत बताउनुभयो ।
कार्यक्रममा इन्सेक गण्डकी प्रदेश प्रमुख गणेश भण्डारीले निर्वाचन आचारसंहिताको आवश्यकता र यसको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले निर्वाचनमा राजनीतिक दल र उम्मेदवारहरूबीच समान प्रतिस्पर्धा सुनिश्चित गर्न, सरकारी स्रोत र साधनको दुरुपयोग रोक्न तथा मतदाताहरूको विश्वास अभिवृद्धि गर्न आचारसंहिताको पालना अनिवार्य रहेको बताउनुभयो । उहाँले निर्वाचन आचारसंहिता कुन–कुन पक्षलाई लागू हुन्छ भन्ने विषयमा पनि जानकारी गराउनुभएको थियो । भण्डारीले निर्वाचनको विश्वसनीयता कायम राख्न र कुनै पनि प्रकारका अनियमितता वा भयमुक्त वातावरण सिर्जना हुन नदिन पर्यवेक्षकहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले कास्कीमा २२ जना पर्यवेक्षक खटिने सुनाउनुभयो ।

कार्यक्रममा नागरिक अगुवा नियोगका प्रदेश संयोजक विष्णुप्रसाद बरालले मतदानका दिन सबैले निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताउनुभयो । पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले निर्वाचन संवेदनशील समयमा भएकाले सबैले सहयोग गरेर लोकतन्त्रलाई थप बलियो बनाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कोपिला नेपालकी विना शिलवालले अप्ठेरोमा परिस्थिति निर्वाचन हुन लागेकाले संयमित भएर खटिनुपर्ने बताउनुभयो । गैसस महासंघका गण्डकीका पदम पहारीले मतपेटीका सेनाले लिनुभन्दा अघि सबै तथ्यांक लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्ताैलाले पर्यवेक्षकका रूपमा काम गर्दा धेरै सोधनी गर्न नहुने, मतदानकेन्द्रमा जानुअघि सबै कुरा तथ्यांक अघि नै बुझेर जानुपर्ने बताउनुभयो । पर्यवेक्षकले पहिलोको निर्वाचन भन्दा यो निर्वाचनमा फरक के भयो भन्ने कुरा प्रतिवेदनमा समेट्नुपर्ने बताउनुभयो । कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा निर्वाचन पर्यवेक्षक, नागरिक समाज र पत्रकारको उपस्थिति रहेको थियो ।