INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन आयोगद्वारा उम्मेदवारलाई सचेत

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा जिल्ला निर्वाचन कार्यालयले एमाले उम्मेदवार राजेन्द्रकुमार राईलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सचेत गराएको छ ।

पूर्व मन्त्री समेत रहेका राईले आचारसंहिता विपरित पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

राईले मतदातालाई प्रभावित गर्ने गरी जिल्लाको सहिदभूमि गाउँपालिका–१ सफाइटारकी ४५ वर्षीया तीर्थकुमारी राईलाई ०८२ फागुन ८ गते गाउँमै पुगेर नगदसहित सम्मान गरेका थिए । सो अवसरमा एमाले नेता तथा सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईले पनि तीर्थकुमारीलाई प्रोत्साहन स्वरूप ५ हजार रुपैयाँ नगद प्रदान गरेका थिए । ्

पूर्व मन्त्री राईको साथमा एमाले नेता तथा कोशी प्रदेशका पूर्व राज्यमन्त्री एवम् प्रदेशसभा सदस्य निरन राई र सहिदभूमि गाउँपालिका उपाध्यक्ष रत्नश्वरी राई पनि पुगेका थिए ।

पूर्वमन्त्री राई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार पनि बनेकाले निर्वाचन आचारसंहिता विपरित जनतालाई प्रलोभन पार्ने काम भएको भन्दै उजुरी परेको थियो । मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र इङनामले राईले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गर्दै एक पटकलाई सचेत गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सुचना अधिकारी इन्द्र कुमार योङहाङले बताउनु भयो । पैसा बाड्नु आचारसंहिता उल्लङ्घन नै रहेको र अबदेखि यस्तो काम नगर्न सचेत गराइएको योङहाङले बताउनु भएको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता २०८२ को दफा ४८ को उपदफा १ मा आचारसंहिता उल्लङ्घन भएमा १ लाख रुपियाँसम्म जरिवाना वा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको कारबाही हुने उल्लेख छ ।

 

ईश्वर थापा

भिडियो