प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गएपछि जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी बढ्दै गएका छन् ।
जिल्ला एक दर्जन मौखिक र तीन ओटा लिखित उजुरी परेको निर्वाचन आचारसंहिता अनुगमन समितिले जनाएको छ ।
लिखित उजुरीमा एमाले उम्मेदवार राजेन्द्रकुमार राई, स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ र नेपाली कांग्रेसका उम्मेदवार दिनेश राईविरूद्ध उजुरी परेको छ ।
एमाले उम्मेदवार राईले सहिदभूमि गाउँपालिकामा बासुरी बाधक महिलालाई नगद सहित सम्मान गरेका थिए भने स्वतन्त्र उम्मेदवार तामाङले सामाजिक सञ्जालमा एमाले उम्मेदवारविरूद्ध लेखेका थिए ।
कांग्रेसका उम्मेदवार राईले मतदातालाई प्रभावित पार्न टोपी र रूद्राक्ष माला वितरण गरेको भन्दै लिखित उजुरी परेको थियो । लिखित उजुरी परेका विषयमा औपचारिक रूपमा अर्थात लिखित रुपमा स्पष्टीकरण सोध्ने काम गरिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन आचारसंहिता अनुगमन संयोजक लक्ष्मीप्रसाद रेग्मीले बताउनु भयो ।
एमाले उम्मेदवार राई र स्वतन्त्र उम्मेदवार तामाङले लिखित रुपमै जवाफ पेश गरिरसकेका छन् भने कांग्रेस उम्मेदवार राईलाई फागुन १४ गते स्पष्टीकरण पनि जवाफ नआएको निर्वाचन आचारसंहिता अनुगमन संयोजक लक्ष्मीप्रसाद रेग्मीले बताउनु भयो ।
एमाले उम्मेदवार राईविरुद्ध नेपाली कांग्रेसले, स्वतन्त्र उम्मेदवार तामाङ विरुद्ध एमालेले र कांग्रेस उम्मेदवार राई विरुद्ध नेपाली कम्युनिष्ट पार्टीले लिखित उजुरी दिएका थिए ।
यस्ता उजुरीका सम्बन्धमा प्रारम्भिक छानबिन गरी आवश्यक निर्देशन तथा सचेत गराउने काम भइरहेको आचारसंहिता अनुगमन संयोजक रेग्मीले बताए । उनका अनुसार लिखित उजुरी परेका विषयमा औपचारिक प्रक्रिया अपनाइने र मौखिक उजुरीका हकमा प्रारम्भिक तहमा छलफल तथा सचेत गराउने अभ्यास गरिएको छ ।
निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्णरूपमा पालना गर्न आग्रह समेत गरेको छ ।