INSEC Online

📅 २०८३ जेष्ठ २१

धनकुटामा आचारसंहिता उल्लङ्घन तीव्र

प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा आचारसंहिता उल्लङ्घन तीव्र रूपमा भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी गतिविधि गरिहरहेको इन्सेक अनुगमनका क्रममा पाइएको हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरितका गतिविधिलाई तीव्रता दिएको इन्सेक अनुगमनका क्रममा पाइएको हो । निर्वाचन आचारसंहिता विपरित हुने गरी राजनीतिक  दल तथा उम्मेदवारहरूले मुख्य–मुख्य बजार तथा चोकमा पार्टीका रङ्गीविरङ्गी झण्डा लगाएका छन् ।

ग्रामीण क्षेत्रमा पार्टीको चिह्न अंकित झण्डा राखेको र केही ठाउँमा पार्टीको चिह्न अंकित तोरण समेत टाँगिएका छन् । कार्यकर्ताले चुनाव प्रचारका क्रममा धेरै ठूला झण्डा प्रयोग गरेको देखिएको छ ।

निर्वाचन आचारसंहितामा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने व्यवस्था भएपनि नेपाली कांग्रेस, एमाले र नेकपाले धनकुटा बजार तथा ग्रामीण क्षेत्रमा साउण्ड सिस्टम गाडीमा राखेर घन्काउँदै ओहोरदोहोर गराइ रहेका छन् ।

पार्टीको सम्पर्क कार्यालयमा पनि साउण्ड सिस्टमबाट चुनावी गीत बजाएको बजाएका छन् । यस्तै एमाले र नेकपाका उम्मेदवारले उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने भएपनि टोपीमा निर्वाचन चिन्हको प्रयोगलाई प्रश्रय दिएका छन् ।

निर्वाचन आचारसंहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन तथा श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था छ । तर, उनीहरुले फ्लेक्समा उम्मेदवारहरूको फोटो समेत छापेर प्रचार गरिरहेका छन् ।

बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाइने नियम बनाइए पनि सदरमुकाममै राति अबेरसम्म नारा लगाउँदै नेता कार्यकर्ताहरू गाडीमा ओहोरदोहोर गरिरहेका देखिन्छन् ।

कतिपय दलका चुनावी जुलुस र र्‍यालीमा १८ वर्षमुनिका बालबालिकालाई समेत प्रयोग गरिएको सामाजिक सञ्जालमा समेत राखिएको पाइएको छ । पार्टीको सम्पर्क कार्यालय र उम्मेदवारका घरमा तोकिएको साइजमा बाहेक अन्य स्थानमा दलको प्रचार सामग्री राख्नु आचारसंहिता उल्लंघन ठहरिने जिल्ला निर्वाचन कार्यालय धनकुटाका जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद अधिकारी बताउँछन् । मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नाम निर्वाचन आचारसंहिताको पालनामा दलहरु प्रतिबद्ध हुनुपर्ने बताउँछन् । ‘सार्वजनिक स्थानमा त्यसरी झण्डा लगाउन पाइँदैन’, उनले भने, ‘हामी दलका प्रतिनिधिहरूसँग त्यस विषयमा छलफल गर्छौं ।’

यस्तै नेपाली कांग्रेश धनकुटाका उम्मेदवार दिनेश राईले घरदैलो अभियानमा महिलालाई रुद्राक्ष माला र पुरुषलाई टोपी उपहार दिएका थिए । निर्वाचन आचारसंहितामा उम्मेदवारले मतदातालाई उपहार दिन नपाइने उल्लेख रहेको छ । यस्तै नेकपा एमालेका उम्मेदवार राजेन्द्र राईले सहिदभूमिमा बासुरी बाधक महिलालाई उपहार दिएका थिए । नेकपाका उम्मेदवार धर्म पौडेलले निर्वाचन चिन्ह रहेको टोपीको प्रयोग र गाडिमा ठूलो साउण्डमा चुनावी गित बनाउँदै हिडिरहेका छन् ।

जनप्रतिनिधि र पत्रकारबाट पनि उल्लङ्घन

धनकुटा जिल्लामा जनप्रतिनिधीबाट पनि आचारसंहिता उल्लंघन भएको पाइएको छ । जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङ, उपप्रमुख सावित्रा राई, धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उपप्रमुख भीमादेवि खनाल, सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई चुनावी कार्यक्रममा व्यस्त रहेका छन् । जनप्रतिनिधिले आफू निर्वार्चित स्थानीय तहमा चुनावी कार्यक्रममा सहभागि हुन नपाइने आचारसंहितामा उल्लेख भएपनि धनकुटाका जनप्रतिनिधि त्यसको पालना नगरेको पाइएको हो । जिल्ला समन्वय समिति प्रमुख तामाङ, उपप्रमुख राई र सहिदभूमि गाउँपालिका अध्यक्ष राई सामाजिक सञ्जालबाट पनि पक्ष विपक्षमा बहस गरिरहेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष रविन कटेल पनि चुनावी कार्यक्रममा सक्रिय रहेका छन् । निर्वाचन आचारसंहितामा पत्रकारले कसैको पक्ष वा विपक्षमा लाग्न नहुने उल्लेख भएपनि कटेल नेकपा एमालेको पक्षमा चुनावी कार्यक्रममा व्यस्त रहेका छन् ।

दुई ओटा मात्रै उजुरी

प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा आचारसंहिता उल्लंघनविरुद्ध दुई ओटा लिखित उजुरी परेको छ । राजनीतिक दलबाट निर्वाचन प्रचारप्रसारका क्रममा आचारसंहिता उल्लङ्घन भएको भन्दै हालसम्म दुई ओटा लिखित उजुरी परेको हो । निर्वाचन अनुगमन समितिका प्रमुख तथा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले एमाले उम्मेदवार राजेन्द्र राई र स्वतन्त्र उम्मेदवार लाक्पा तामाङ विरुद्ध उजुरी परको थियो । रेग्मीले उजुरी विरुद्ध अनुगमन र छलफल गरेर मिलाइ सकेको जानकारी दिए । ‘निर्वाचनका लागि प्रचारप्रसारका क्रममा चर्को आवाजमा प्रचार सामग्री बजाउने, गाडीमा स्टिकर टाँस्ने, ठूला झण्डा राखेर प्रचारप्रसार गर्ने क्रम बढेको छ । ‘पछिल्लो समय मौखिक उजुरी आउने क्रम द्यैीन्क् रुपमा बढेको छ । २ वटा बाहेक लिखित रूपमा आएको छैन । उल्लंघनका उजुरी आएपछि सम्बन्धित पक्षलाई सचेत गराएका छौँ।’ आचारसंहिता कडाइ गर्न सुरक्षा निकायसँग छलफलको भइरहेको रेग्मीले बताउनु भएको छ  ।

यस्तै नेपाल पत्रकार महासंघ धनकुटा शाखाले भने निर्वाचनमा आचारसंहिता उल्लंघन गर्ने पत्रकारलाई सहयोग नगर्ने जनाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कुनै उम्मेदवारलाई लक्षित गरी मत माग्दा पत्रकारलाई समस्या परे पत्रकारलाई सहयोग नगर्ने र समाचार संकलनका क्रममा पत्रकारलाई समस्या आए महासंघले सबै शक्ति लगाएर सहयोग गर्ने पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासले बताए । उनले पत्रकारलाई आचारसंहिता कडाइका साथ पालना गर्न आग्रह गरेका छन् ।

आचारसंहिता उल्लंघन गर्नेलाई के कारबाही हुन्छ ?

धनकुटा हालसम्म २ वटा लिखित उजुरी परेको हल भइसकेको छ । मौखिक उजुरी देनिक रुपमा पर्ने गरेको र मौखिक रूपमै सचेत गराइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आचारसंहिता उल्लंघन गर्नेलाई शुरुमा सचेत गराउने त्यति गर्दा नमानेमा प्रहरी प्रशासन लगाएर प्रचार सामग्री हटाउने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत इङ्नामले बताए । निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम आचारसंहिता उल्लंघन भएमा एक लाख रुपैयाँसम्म जरिबाना गर्न वा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।

 

ईश्वर थापा

भिडियो