निर्वाचन आचारसंहिता २०८२ मा निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो कार्यक्षेत्रमा कुनै पनि दल वा उम्मेदवारको पक्षमा भोट माग्न नपाउने स्पष्ट व्यवस्था भए पनि सप्तरी जिल्लाका अधिकांश जनप्रतिनिधि आचारसंहिता विपरीत चुनावी गतिविधिमा संलग्न भएको पाइएको छ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक) द्वारा गरिएको अनुगमनका क्रममा यस्तो तथ्य सार्वजनिक भएको हो। अनुगमन अनुसार जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित तिलाठी कोइलाडी गाउँपालिका–७ का वडा अध्यक्ष हरिनारायण मण्डल जसपा उम्मेदवारको पक्षमा आयोजित चुनावी घरदैलो कार्यक्रममा सहभागी भएको भेटिएको छ।
त्यसैगरी राजविराज नगरपालिका–८ का वडा अध्यक्ष जय नारायण मण्डल तथा वडा सदस्य सुरेश कर्ण फाल्गुन १०” गते आईतवार पनि निर्वाचन आचारसंहिता विपरीत क्षेत्र नम्बर २ का जसपा नेपालका उम्मेदवारको पक्षमा भोट माग्दै हिँडेको अनुगमन टोलीले जनाएको छ।
निर्वाचन आचारसंहिताको उल्लंघन सम्बन्धी घटनाले निष्पक्ष र मर्यादित निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको सरोकारवालाहरूको भनाइ छ।

