INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मीका सबै मतदान स्थलमा प्राथमिक उपचार कक्ष स्थापना

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनलाई लक्षित गर्दै गुल्मी जिल्लाका सबै मतदान स्थलमा प्राथमिक उपचार कक्ष स्थापना गरिने भएको छ।

प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले निर्वाचनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन १ सय ४५ वटै मतदान स्थलमा प्राथमिक उपचार कक्ष सञ्चालन गर्ने योजना बनाइएको जानकारी दिनुभयो। प्रत्येक मतदान स्थलमा एक–एक जना स्वास्थ्यकर्मी खटाउने तयारी गरिएको उहाँले बताउनुभयो।

स्वास्थ्यकर्मीको व्यवस्थापन, सेवा–सुविधा र आवश्यक सामग्रीको आपूर्तिका विषयमा स्थानीय तहसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी गैह्रेले उल्लेख गर्नुभयो। वृद्ध, महिला, बिरामी तथा सुत्केरी महिलासमेत मतदानमा सहभागी हुने भएकाले प्राथमिक उपचार कक्ष प्रभावकारी हुने अपेक्षा गरिएको छ।

जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरे का अनुसार क्षेत्र नम्बर १ मा ८३ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र कायम गरिएको छ भने क्षेत्र नम्बर २ मा ६२ मतदान स्थल र १ सय २९ मतदान केन्द्र रहेका छन्।

क्षेत्र नम्बर १ मा कुल १ लाख २२ हजार १ सय ८६ मतदाता रहेका छन्। जसमध्ये ६२ हजार २ सय ७२ महिला र ५९ हजार ९ सय १४ पुरुष मतदाता छन्। त्यसैगरी क्षेत्र नम्बर २ मा १ लाख ७ हजार ३ सय ६३ मतदाता रहेका छन्। तीमध्ये ५२ हजार ९ सय ३८ महिला, ५४ हजार ४ सय २३ पुरुष र अन्य दुई जना मतदाता रहेको निर्वाचन अधिकारी घिमिरेले जानकारी दिनुभयो।

निर्वाचनका सम्पूर्ण तयारी पूरा भइसकेको र अब मतदानको प्रतिक्षामा रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

 टोपलाल अर्याल

भिडियो