आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिदै गर्दा मतदाताहरु बाहिरबाट गाउँ फर्किने प्रक्रिया चलिरहेको छ । तर मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका–१ र २ वडाका मतदाता गाउँमा अझै पुग्न सकेका छैनन् ।
निवार्चन नजिकिदै जाँदा उम्मेदवारहरु घरदैलोमा व्यस्त देखिएका छन् । निर्वाचन सुरक्षाका लागि जिल्ला सरमुकाम गमगढी बजारबाट घोडामा गस्ती गएको नेपाली सेनाको टोलीले गाउँमा मतदाता नभेट्टाएपछि फर्किएको छ । निर्वाचनको दिन नजिकिदै गर्दा मुगुको उच्च हिमाली भेगमा नेपाली सेनाले तिव्ररुपमा गस्ती बढाउँदै गएको छ ।
निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न मुगु जिल्लाको भौतिक रुपमा कठिन र सडक सञ्जालको पहुँच नपुगेको मुगुको मुगुम कार्मारोङ्ग गाउपालिका अन्तर्गतको मुगु गाउ, डोल्फु लगायतमा उच्च हिमाली भेगका गाउँहरुमा नेपाली सेनाको श्री हनुमानध्वज गुल्मले गस्ती बढाएको सेनानी खड्ग बहादुर श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार निर्वाचनको दिन नजिकिदै गर्दा हुन सक्ने सुरक्षा खतरालाई मध्यनजर गर्दे सेनाले गस्ती बढाएको हो । हालसम्म मुगु जिल्लाको सबै मतदान स्थलमा नेपाली सेनाले गस्ती गरिसकेको छ ।
विशेष गरेर मुगु र डोल्फु गाउँका बासिन्दा चिसो समयमा बेसि झरेर कोही सदरमुकाम गमगढी बजार, जुम्ला लगायत बेसीतिर झर्ने गर्छन् भने कोही रोजगारिका लागि विदेशिएकाले अहिले त्यहाँका गाउँमा मतदाता भेट्नै मुस्किल पर्ने गरेको छ । मुगु जस्तो दुर्गम हिमाली जिल्लामा मौसम र भौगोलिक कठिनाइका बावजुत सुरक्षा संयन्त्र सक्रिय रूपमा खटिँदा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने अपेक्षा स्थानीयवासीले गरेका छन् ।
मुगुम गाउँमा करिब ३ सय घरधुरी छन् । वृद्धवृद्धा र बालबालिकालाई लिएर मतदान केन्द्रसम्म पुग्न झनै कठिन हुने उनीहरुको भनाइ छ । गमगढीबाट मतदान गर्न आउन–जान प्रतिव्यक्ति करिब तीन हजार रुपियाँ भन्दा बढी खर्च हुने गर्छ, भने जुम्लाबाट आउ जाउ गर्न करिब १० हजार रुपियाँभन्दा बढी खर्च लाग्छ । जिल्लामा मतदान व्यवस्थापनका लागि ४ सय १७ जना कर्मचारी खटाइएको जिल्ला निर्वाचन कार्यालय मुगुका कार्यालय प्रमुख कमल उपाध्यायले बताउनु भयो ।