INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपित गिरफ्तार

आसन्न निर्वाचनको सन्दर्भमा रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टीका जिल्ला संयोजकसहित तीन जनामाथि फागुन ११ गते छुट्टाछुट्टै स्थानमा कुटपिट गर्ने आरोपितहरुलाई प्रहरीले फागुन १२ गते गिरफ्तार गरेको छ । बाँफिकोट–७ का विकास अधिकारी, प्रकाश अधिकारी, मुसिकोट नगरपालिकाका खिमलाल ओली, यामलाल ओली, गोविन्द ओली र देविलाल ओलीलाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका इन्स्पेक्टर हरिप्रसाद पुनले जानकारी दिनुभयो । उहाँका अनुसार कुटपिटबाट ठुलो चोटपटक भने लागेको छैन ।

संयोजक गोविन्द रोका ‘सचिन’ र अखिल क्रान्तिकारीका विद्यार्थी नेता गोविन्द मल्ल फागुन ११ गते बिहान मुसिकोटबाट बाँफिकोट गाउँपालिका–४ लोछावाङतर्फ दिवंगत मदन पुनको घरमा समवेदना व्यक्त गर्न जाँदा विकास र प्रकाशले कुटपिट गरेको, मुसिकोट नगरपालिका–९ का वडा सदस्य ओपेन्द्र कुमार ओलीलाई हिलगाउँतर्फ जाँदै गर्दा बाटोमा घेरा हालेर खिमलाल ओली, यामलाल ओली, गोविन्द ओली र देविलाल ओलीले कुटपिट गरेको नेपाली कम्युनिष्ट पार्टी रुकुमपश्चिमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । घटनामा संलग्नमध्ये खिम बहादुर ओली, यामलाल ओली र देविलाल ओली नेकपा एमालेका तथा गोविन्द ओली प्रगतिशील लोकतान्त्रिक पार्टीका स्थानीय कार्यकर्ता रहेको दाबी गरिएको छ । अधिकारीद्वय नेपाली काँग्रेसका स्थानीय कार्यकर्ता रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने जिम्मेवारीका साथ आफूहरू संयमतापूर्वक अघि बढिरहेको अवस्थामा यस्ता गतिविधि हुनु गम्भीर विषय भएको उल्लेख गरिएको छ ।

 

जीवन खड्का

भिडियो