महाराजगञ्ज र नैकापमा दुई ओटा चार पाङ्ग्रे सवारी साधनमा आगजनी गरेको आरोपमा प्रहरीले ०८२ फागुन १९ गते दुई जनालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार गरिएकाहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका–६ बस्ने २८ वर्षीय सुमन बोहरा र चन्द्रागिरि–६ नै स्थायी ठेगाना भएका ५५ वर्षीय कृष्ण मिजार रहेका छन् । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई चन्द्रागिरिबाट गिरफ्तार गरिएको हो । उनका अनुसार पक्राउ परेका दुवै जना दुर्गा प्रसाईं समूहकै कार्यकर्ता हुन् ।
उनीहरुले काठमाडौँको नैकापमा सिप्रदी ट्रेडिङ्गको कार्यालय नजिकै बि एए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जमा बा ७ च १४०१ नम्बरको मारुती भ्यान आगजनी गरेका थिए। घटनास्थलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको पर्चा भेटिएको र घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनु भयो।