INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवारको फोटो अङ्कित टिसर्ट तथा भेष्ट प्रहरीद्वारा नियन्त्रणमा

निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने निष्कर्षसहित प्रहरीले होली पर्व लक्षित टिसर्ट तथा भेष्ट नियन्त्रणमा लिएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार बालेन शाह र रवि लामिछाने अङ्कित टिसर्ट तथा भेष्ट प्रहरीले झापा र मोरङबाट नियन्त्रणमा लिएको हो ।

होली पर्व लक्षित गरी बिक्रीका लागि ल्याइएका राजनीतिक सन्देश र नेताहरूको तस्बिर अङ्कित टीसर्टहरू मोरङ र झापाबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

निर्वाचन आचारसंहिताविपरीत प्रचारसामग्री बनाएको आरोपमा प्रहरीले उम्मेदवारका फोटा भएका टिसर्ट नियन्त्रणमा लिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहको नाम तथा तस्बिर जोडिएका टीसर्टहरू जफत गरिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी योगेन्द्रसिंह थापाले बताउनु भयो ।

बालेन शाह झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट र रवि लामिछाने चितवनको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका विभिन्न उम्मेदवारका चित्र अङ्कित २ सय ६२ थान टीसर्ट नियन्त्रणमा लिइएको एसएसपी थापाले बताउनु भयो ।

होलीकै दिन फागुन १८ गतेदेखि मौन अवधि सुरु हुने र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको सन्दर्भमा त्यस किसिमका सामग्री बिक्री वितरणले आचारसंहिता उल्लंघन गर्न सक्ने भएकाले पूर्वसावधानीस्वरूप नियन्त्रणमा लिइएको एसएसपी थापाले बताउनु भयो । झापामा सबैभन्दा बढी टीसर्ट बिर्तामोड क्षेत्रबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड नगरपालिका–५ कृषि थोकनजिकबाट फागुन १४ गते ८७ थान टीसर्ट नियन्त्रणमा लिएको छ । सनाया कलेक्सनबाट २८, दुर्गा इन्टरप्राइजेजबाट १४, निकिता भेराइटिजबाट ४१ र मामा कलेक्सनबाट चार थान त्यस किसिमका टीसर्ट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी बिर्ता बजारबाट ६८ थान, अरुण साहको पसलबाट ५७, गणेश दत्तको पसलबाट चार, अभि दत्तको पसलबाट दुई, रञ्जित महतोको पसलबाट चार र रणकुमार साहको पसलबाट एक थान टीसर्ट बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले विराटनगरका विभिन्न पसलबाट पसलबाट उम्मेदवारका प्रचारप्रसारमा सहयोग पुग्ने हिसाबले बनाइएका होली लक्षित टिसर्ट नियन्त्रणमा लिएको हो । विराटनगरका विभिन्न पसलमा बिक्रीका लागि राखिएका भेष्ट तथा टीसर्टमा रवि र बालेनको संयुक्त तस्बिर छापिएको छ । प्रहरी विराटनगरमा १ हजार ५ सय थान भेष्ट तथा टीसर्ट बरामद गरेको छ ।

मोरङ र झापाबाट १ हजार ७ सय ६२ थान टीसर्ट तथा भेष्ट नियन्त्रण आएको छ ।

होलीजस्तो सांस्कृतिक पर्वको अवसरलाई राजनीतिक प्रचारसँग जोडेर बजारमा सामग्री ल्याइएकाले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने प्रहरीको निष्कर्ष छ ।

 

कोशी प्रदेश कार्यालय

भिडियो