प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मौन अवधि सुरू हुनुअघि इन्सेकले झापा निर्वाचन क्षेत्र नं.५ मा निर्वाचन पूर्वको अवस्थाका बारेमा पर्यवेक्षण गरेको छ ।
झापा निर्वाचन क्षेत्र नं.५ का निर्वाचन अधिकृत, सुरक्षा निकायका साथै अति सम्वेदनशील मतदानस्थलको इन्सेकले ०८२ फागुन १८ गते निर्वाचन पूर्व पर्यवेक्षण गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहलगायतको उम्मेदवारी रहेको झापा निर्वाचन क्षेत्र उम्मेदवारका कारण चर्चामा छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं. ५ का १९ ओटा मतदानस्थललाई अति संवेदनीशल मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ ।
सीमा क्षेत्रका मतदानस्थल, मुख्य राजमार्गसँग प्रत्यक्ष नजोडिएका मतदानस्थललाई अति संवेदनीशल सूचीमा राखिएको निर्वाचन पर्यवेक्षण्का क्रममा झापा निर्वाचन क्षेत्र न.५ का निर्वाचन अधिकृत विदुर कार्कीले बताउनु भयो । उहाँले पर्यवेक्षक टोलीसँग निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सबै मतदानस्थलमा पुग्न सक्ने गरी कर्मचारीलाई निर्वाचन सामग्री जिम्मा दिएको बताउनु भयो । मतदानका दिन अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी तथा गर्भवती र आशौच बारिरहेकाहरूलाई छुट्टै लाइनबाट मतदान गर्ने व्यवस्था मिलाइएको बताउनु भयो ।

सीमा क्षेत्रमा रहेका मतदानस्थल सम्वेदनशील रहेको र खुला सीमा नाकाका कारण हुन सक्ने साना हतियारको प्रयोग, जाली नोटको कारोवार, भारतीय नम्वर प्लेटका सवारीसाधनको प्रयोग तथा अन्य व्यक्तिहरूको अनावश्यक आवतजावत निगरानीका लागि भारतीय सीमा सुरक्षा वल(एसएसबी) सँग समेत समन्वय र सहकार्य गरिएको सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेटक्वाटरका डिएसपी दिनेशकुमार श्रेष्ठले इन्सेक निर्वाचन पूर्वको पर्यवेक्षण टोलीलाई बताउनु भयो । उहाँले झापा निर्वाचन क्षेत्र न. ५ को गौरीगञ्ज गाउँपालिका–५ का सीमा क्षेत्रमा रहेका मतदानस्थल अति सम्वेदलनशील भएकाले नेपाली सेना र नेपाल प्रहरीको सहकार्यमा सुरक्षा योजना बनाएको बताउनु भयो ।
इन्सेक निर्वाचन पूर्व पर्यवेक्षण टोलीले गौरीगञ्ज गाउँपालिका–५ मा रहेको अति सम्वेदनशील मतदानस्थल जनता बालविकास विकास आधारभूत विद्यालयको भौतिक सरंचनाका बारेमा समेत स्थलगत जानकारी लिएको छ । विद्यालयको भौतिक पूर्वाधार, पर्खाल आदि नहुँदा हुन सक्ने जोखिमका विषयमा इन्सेक निर्वाचन पूर्व पर्यवेक्षण टोलीले विद्यालयको भौतिक अवस्थाका बारेमा जानकारी लिएको हो ।

इन्सेक निर्वाचन पर्यवेक्षण टोलीले इलाका प्रहरी कार्यालय, दमकका डिएसपी किशोर लम्सालसँग निर्वाचनसँग जोडिएका सुरक्षा चुनौतीका विषयमा समेत जानकारी लिएको छ । मतदाताले भयरहित ढङ्गमा मतदान गर्न पाउने वा नपाउने, मतदातासँग उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिले गर्दै आएको व्यवहार र मौन अवधिमा हुन सक्ने गतिविधिका बारेमा इन्सेक निर्वाचन पर्यवेक्षण टोलीले डिएसपीसँग जानकारी लिएको हो ।
झापा निर्वाचन क्षेत्र नं.५ का मतदातालाई कुनैपनि प्रकारको सुरक्षा चुनौती नरहेको, निर्वाचन अघि र पछि पनि हरेक एक किलोमिटरलाई कभर हुने गरी मोवाइल टोलीको परिचानलसहित सिभिल पोशाकमा सुरक्षाकर्मीको परिचालन गरिएकाले मौन अवधिमा समेत निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुने अवस्था नरहेको डिएसपी लम्सालले इन्सेक निर्वाचन पूर्वको पर्यवेक्षण टोलीलाई बताउनु भयो ।
पर्यवेक्षण टोलीले सीमावर्ती क्षेत्रका अति सम्वेदलनशील मतदानस्थल, दमक नगरपालिकाभित्रको सम्वेदनशील मतदानस्थल र इलामको चुलाचुली गाउँपालिकाको सीक्षा क्षेत्रमा रहेका झापा निर्वाचन क्षेत्र नं.५ का अति सम्वेदनशील मतदानस्थल समेतको अनुगमन गरेको छ ।

जिल्लामा २ सय ८५ ओटा मतदानस्थल र ८ सय १५ ओटा मतदान केन्द्रहरू तोकिएको छ । २ सय ८५ मतदानस्थलमध्ये १ सय ४७ संवेदनीशल र ४३ ओटा मतदानस्थल छन् ।
झापा क्षेत्र नं १ मा १६ ओटा मतदानस्थल र ५४ ओटा मतदानकेन्द्र , क्षेत्र नं २ मा १६ ओटा मतदानस्थल र ५५ ओटा मतदान केन्द्र , क्षेत्र नं ३ मा १० ओटा मतदानस्थल र ४० ओटा मतदानकेन्द्र , क्षेत्र नं ४ मा २५ वटा मतदानस्थल र ६७ ओटा मतदान केन्द्र तथा क्षेत्र नं ५ मा सबैभन्दा बढी १० ओटा मतदानस्थल र ७० ओटा मतदानकेन्द्र अति संवेदनीशल भनि वर्गीकरण गरिएको छ ।
झापा निर्वाचन क्षेत्र न. ५ को दमकमा नौ ओटा, गौरादहमा तीन ओटा, कमलमा सात ओटा र गौरीगञ्जमा एउटा मतदानस्थललाई अति संवेदनीशल मानिएको छ ।
निर्वाचन पूर्वको पर्यवेक्षणका क्रममा झापा निर्वाचन क्षेत्र नं.५ मा निर्वाचन आचारसंहिता विपरितका गतिविधि भएको पाइएको छ । राष्ट्रिय झण्डालाई निर्वाचन प्रचारप्रसारका क्रममा प्रयोग गरेको पर्यवेक्षणका क्रममा पाइएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालयका अधिकृत पुण्य अधिकारीको नेतृत्वमा झापा गौरीगञ्जका इन्सेक पर्यवेक्षक मदन राजवंशी र दमकका पर्यवेक्षक चिरञ्जीवी घिमिरेको टोलीले निर्वाचन पूर्वको अवस्थाका बारेमा झापा निर्वाचन क्षेत्र नं.५ मा मौन अवधि सुरू हुनअघि निर्वाचन पर्यवेक्षण सम्पन्न गरेको छ ।
