राष्ट्रिय मानव अधिकार आयोगको टोलीले देशभरमा रहेका विभिन्न बृद्धाश्रमको अवस्था अनुगमन गर्ने भन्दै चितवनबाट अनुगमन थालेको छ ।
टोलीले चैत ६ गते चितवन र तनँहुको सङ्गम स्थल देवघाटधामबाट अनुगमन कार्यको सुरूवात गरेको हो ।
आयोगका सदस्य प्रकाश वस्तीका अनुसार देशभर रहेका १ सय ४४ वटा बृद्धाश्रमको अनुगमन गरी अर्को वर्ष सरकारलाई प्रतिवेदन बुझाइनेछ ।
मानव अधिकारको दृष्टिकोणबाट आवश्यक पूर्व सर्तहरू पालना भए नभएको बारेमा अध्ययन हुने सदस्य वस्तीले बताए । टोलीमा वस्तीसहित चार जना रहेका छन् ।
नेपालमा ज्येष्ठ नागरिक तथा उनीहरूको अधिकारको अवस्था, आश्रम सञ्चालनको प्रकृयालगायतका विषयमा अध्ययन गरिने आयोगले जनाएको छ ।
देवघाटमा सरकार, एनआरएनए, रोटरी र निजी प्रयासबाट आश्रम सञ्चालन भएकाले पनि पहिलो अध्ययन देवघाटबाट थालिएको वस्तीले बताए ।
प्रारम्भिक अध्ययनमा देवघाटमा कानुनले तोकेको मापदण्ड अनुसार आश्रम सञ्चालन नभएको जनाइएको छ । त्यस्तै हरेक तीन-तीन महिनामा प्रमुख जिल्ला अधिकारी पुगेर जानकारी लिनुपर्ने कानुनी व्यवस्था भएपनि कार्यान्वयन हुन नसकेको सदस्य वस्तीले जानकारी दिए ।