INSEC Online

📅 २०८३ जेष्ठ २१

०६२ फागुन ५ गते

०६२ फागुन ५ गते

प्रेस विज्ञप्ति

पूर्वाञ्चलका अपहरित क्षेत्रीय सहायक प्रशासक प्रेमप्रसाद सापकोटाको माओवादीको कब्जामा रहेको अवस्थामै ०६२ फागुन ५ गते धनकुटा जिल्लाको राजारानी क्षेत्रमा मृत्यु हुनुले अन्तर्राट्रिय मानवीय कानुनको जघन्य उल्लंघन भएको ठहर इन्सेकको रहेको छ ।

माओवादीले सापकोटाको मृत्यु दमको रोगका कारण भएको सन्देश सम्प्रेषण गरेको छ । आफ्नो कब्जामा रहेको व्यक्तिको सुस्वास्थ्य र जीवनका सम्बन्धमा सम्पूर्ण जिम्मेवारी लिनु पर्ने जेनेभा महासन्धिमा स्पष्ट बताइएको पृष्ठभूमिमा सापकोटाको मृत्यु माओवादीबाट बताइएझैं दमको कारणले नै भएको भए तापनि माओवादी नेतृत्व जिम्मेवारीबाट पन्छन पाउँदैन । इन्सेक यस घटनाका सन्दर्भमा माओवादीलाई कडा निन्दा र भर्त्सना गर्दछ । साथै, आफ्नो कब्जामा रहेको अवस्थामा यसरी निहत्था, निशस्त्र व्यक्तिको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिन, घटनाको निष्पक्ष छानबिन गर्न र दण्डहीनतालाई बढावा नदिन पनि इन्सेक आह्वान गर्दछ । मृतक सहायक क्षेत्रीय प्रशासक सापकोटाको शव तत्काल परिवारजनलाई हस्तान्तरण गर्न पनि इन्सेक माग गर्दछ ।

माओवादीले धनकुटा आक्रमणको क्रममा माघ २५ गते सापकोटासहित १५ जना कर्मचारी तथा सुरक्षाकर्मीलाई अपहरण गरेका थिए । अपहरण गरिएकामध्ये ११ जना दुईपटक गरेर मुक्त भए तापनि सापकोटा तथा अन्य तीनजना सुरक्षाकर्मी भने माओवादीकै नियन्त्रणमा रहेका थिए । अहिले सापकोटाको मृत्युले माओवादीको कब्जामै रहेका अन्य तीनजनाको स्थिति के हुने हो भन्ने सम्बन्धमा पनि आशंका उब्जिएको छ । इन्सेक माओवादी कब्जामा बाँकी रहेका तीनैजनालाई तत्काल बिनाशर्त रिहा गर्न माग गर्दछ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो