पोखरा-लेखनाथ मनपा-१४ स्थित विजयपुर खोला पुलमा फेला परेको बमका बारेमा समाचार सङ्कलनका लागि गएका गण्डकी टेलिभिजनका घनश्याम पाण्डे र अस्थायी प्रहरी चौकी चाउथेमा कार्यरत प्रहरी जवान कुलबहादुर खत्री बम विष्फोटमा परी घाइते भएको घटनाप्रति कास्कीमा रहेका अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन् ।
अधिकारकर्मीहरूले फागुन ८ गते एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान तथा कानुनहरूले स्वतन्त्रतापूर्वक पेशा व्यवसाय सञ्चालन गर्न पाउने, बिना रोकतोक आवतजावत गर्न पाउने अधिकार सुरक्षित गरेको हुँदा दोषीलाई पहिचान गरी घटनामा संलग्न कानुनी दायरामा ल्याइ घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल, शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णुप्रसाद बराल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालयका संयोजक शिव खकुरेल, मानव अधिकार एलाइन्स कास्कीका अध्यक्ष रामचन्द्र पौडेल, महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्मा र मानव अधिकार रक्षक संरक्षण तथा प्रवर्धन केन्द्र कास्कीका अध्यक्ष सरलाकुमारी पाण्डेद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा बिना अवरोध समाचार सङ्कलन गर्न पाउने सञ्चारकर्मीको अधिकारको सम्मान गर्दै आगामी दिनमा यस्ता गतिविधि नदोहोर्याउन समेत सबै पक्षसँग अनुरोध गरिएको छ ।
इन्सेकले घटनामा घाइते भएका पत्रकार घनश्याम पाण्डेलाई आर्थिक सहयोग समेत गरेको छ । इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेलले फागुन ८ गते नै गण्डकी शिक्षण अस्पतालमा उपचाररत पीडितलाई अस्पतालमै भेटी ५ हजार रुपियाँ प्रदान गरी घाइतेको अवस्थाका बारेमा जानकारी लिएका थिए । संयोजक खकुरेलले मानव अधिकार रक्षकहरूलाई सहयोग कार्यक्रम अन्तर्गत पीडितलाई आर्थिक सहयोग गरिएको बताए ।