०६२ भदौ ८ गते
प्रेस विज्ञप्ति
इन्सेक सहकर्मी संस्था मानवअधिकार चेतना अभिबृद्धि मञ्च, चैनपुर, बझाङका अध्यक्ष, हेमन्तवाडा गाविसका ओफिलाल ओखेडालाई ०६२ भदौ ७ गते साँझ साढे छ बजे सदरमुकामबाट घर फर्किरहेको अवस्थामा पानकोटस्थित पुलको चेकपोष्टमा खटिएका दुर्गाभञ्ज्याङ गुल्मका एक सैनिकले बोलाएर केही नभनी एकाएक बेहोस हुने गरी कुटपिट गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यसअघि पनि सुरक्षाकर्मीबाट मानवअधिकार रक्षकहरुउपर ज्यादति गरिएका घटनाहरु सार्वजनिक हुँदै आएका छन्।यस्ता क्रियाकलाप नियोजित तवरले भइरहेको त छैन – हामी मानवअधिकार रक्षकहरुले गम्भीरतापुर्वक लिनुपर्ने अवस्था सृजना भएको छ ।
ओखेडालाई कुटपिट गर्ने सैनिकलाई यथाशीघ्र कारवाही गरी त्यसको सार्वजनिक जानकारी गराउन सरकार र सुरक्षा निकायसँग हामी जोडदार माग गर्दछौं ।

सुबोधराज प्याकुरेल
अध्यक्ष