INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल अधिकार सचेतना समूहलाई सचेतना अभिवृद्धि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेश कार्यालयको आयोजनामा असार २० गते बाल अधिकार सचेतना समूहका सदस्यहरूको लागि विराटनगरमा सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय मध्यहर्षाही र अमरसिंह मावि साहेवगञ्ज, बर्जु गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय अमाही बेल्हा र रामसीता माध्यमिक विद्यालय भिमपुर तथा मोरङको रतुवामाई नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय इटहरा र सरस्वती माध्यमिक विद्यालय कादुपाडा, सुनवर्षी नगरपालिकास्थित बिरेन्द्र माध्यमिक विद्यालय अमरदह र आदर्श माध्यमिक विद्यालय डाइनियामा गठित बाल अधिकार सचेतना समूहमा आवद्ध बालबालिकाहरू र संरक्षक शिक्षकहरूलाई सचेतना अभिवृद्धि कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी हस्तबहादुर सुनारले “न्यायमा पीडितको पहुँच र प्रहरीको प्रतिबद्धता”, सिविनका कोशी प्रदेश प्रमुख बासु अधिकारीले “बाल अधिकार, कानुन र बाल हेल्पलाइन”, ओरेकका कोशी प्रदेश प्रमुख शोभा बजगाईले “महिला अधिकार, समानता र सशक्तिकरण” विषयमा सहजीकरण गर्नुभयो ।
यसैगरी राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेशकी मानव अधिकार अधिकृत तुलसा कार्कीले “वातावरण प्रदुषण, संरक्षण र स्वास्थ्य अधिकार”, फेडोका जिल्ला परियोजना संंयोजक नरबहादुर आउजीले “जातीय विभेदको अवस्था र कानूनी व्यवस्था” तथा कोशी अस्पतालमा सञ्चालित ओसिएमसीका मामला व्यवस्थापक रीता दाहालले “ओसिएमसीको उपचार सेवाको प्रकृया र प्रभावकारिता” विषयमा सहजीकरण गर्नुभयो ।
कार्यक्रमका अध्यक्ष इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले मानव अधिकारप्रतिको सचेतना र जागरणले मात्र यसको सम्मान, संरक्षण, सम्वद्र्धन र प्रभावकारी कार्यान्वयनलाई सुनिश्चित गर्ने भएकोले ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सचेतना कार्यक्रम गरिएको बताउनु भयो । बालबालिकाहरूमा मानव अधिकारप्रतिको बुझाइलाई स्पष्ट बनाउन, सकारात्मक सोच वृद्धि गरी कर्तव्यसहितको अधिकारको दाबी गर्न, जातीय विभेद र लैंगिक हिंसाविरुद्ध खबरदारी र पहरेदारी गर्न, जलवायु परिवर्तनका कारण मानव जीवनमा पारेको प्रभावलाई मानव अधिकारमैत्री आँखाले हेर्दै सोही अनुसार अगाडि बढन र सरोकारवाला निकायको सहयोग प्राप्त गर्न कार्यक्रम उपयोगी भएको उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सचेतना कार्यक्रमपश्चात सकारात्मक सामाजिक रूपान्तरणका लागि मानव अधिकारको रक्षा र पैरवी गर्ने उद्देश्यसहित प्रदेशस्तरीय बाल अधिकार समूहको गठन भएको छ । बालबालिकाहरूको भेलाले रतुवामाईकी निता कटुवालको अध्यक्षतामा सात सदस्यीय प्रदेशस्तरीय बाल अधिकार समूह गठन गरेको छ । समूहको उपाध्यक्षमा बर्जुकी नेहारीका चौधरी र सचिवमा सुनवर्षीका उमेश शाह चयन हुनुभएको छ । सदस्यहरूमा बर्जुका प्रितिका चौधरी र राधिका चौधरी, देवानगञ्जका आदर्श कुमार यादव र मेहेराज अन्सारी चयन हुनुभएको छ ।
इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले स्वागत गर्नुभएको कार्यक्रमका सहभागीहरुले मानव अधिकार रक्षाका लागि राज्यले गरेको प्रतिबद्धता र व्यवस्थाबारे जानकारी पाएर आत्मबल बढनुका साथै राज्यको सेवा, सुविधा प्राप्त गर्ने वातावरण बनेको बताउनु भयो । Morang20250407 (5) Morang 20250704 (10)Morang 20250704 (7)  Morang20250407 (6)Morang 20250704 (9) Morang 20250704 (8)

अन्य

भिडियो