अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेशको कार्यालयको आयोजनामा बर्दिया र बाँके जिल्लामा ०८२ जेठ २८ गते मानव अधिकार शिक्षा तथा क्षमता विकास तालिम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय निकाय, समुदायका नेताहरू, मानव अधिकारकर्मीहरू र सरोकारवालाहरुको सहभागिता रहेको थियो।

मानव अधिकारको मुलभूत अवधारणा, कानुनी आधार र यसको संरक्षणका उपायहरू, मानव अधिकार रक्षकहरूको भूमिका र जिम्मेवारीको महत्वका बारेमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले प्रष्ट पार्नु भयो । मानव अधिकारको सवालहरू परिस्थिति अनुसार परिवर्तन हुन्छन् र वकालत गर्न आवश्यक छ। हामीले आफ्नो पहिचान र अधिकार सुनिश्चित गर्न कानुनी ज्ञानको आवश्यक पर्दछ महतले बताउनु भयो ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि, नीति र कानुनहरूको ज्ञानले मानव अधिकार उल्लंघनका घटनालाई रोक्न मद्दत पुर्याउँदछ । संक्रमणकालीन न्याय, दण्डहीनता विरुद्धको संघर्ष र मानव अधिकारको संरक्षण हाम्रो दायित्व भएको राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख द्वारिका अधिकारीले बताउनु भयो ।

मानव अधिकारको सिद्धान्तहरू सरल र व्यवहारिक रुपमा बुझाउनु पर्ने, समानता, सहभागिता, पारदर्शिता र शसक्तिकरणको अभ्यासले नै दीगो र समावेशी समाजको निर्माण हुने प्राध्यापक रविन्द्र कुमार कर्णले बताउनु भयो ।
कार्यक्रममा सहभागीहरूले आफ्नो भूमिकाबारे स्पष्ट धारणा राख्दै, स्थानीय तहमा महिलाको सहभागिता र समुदायमा मानव अधिकार प्रवर्द्धनमा सक्रियता आवश्यक भएको बताए। सबैको जिम्मेवारी र सहभागितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
सामाजिक अभियन्ताहरूले शिक्षा, वातावरण संरक्षण, र विकास निर्माण जस्ता क्षेत्रमा मानव अधिकारको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताउँदै, आगामी दिनहरूमा सहकार्य र समन्वयमार्फत् समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमको सञ्चालन इन्सेकका कार्यक्रम अधिकृत टेकनाथ आचार्यले गर्नुभएको थियो भने, समापन इन्सेकका केन्द्रिय सदस्य कुष्णमुरारी भट्टले गर्नुभएको थियो। यस प्रकारको कार्यक्रमले समुदायमा मानव अधिकारको बारेमा सचेतना फैलाउने र समाजलाई सशक्त बनाउने दिशामा महत्वपूर्ण कदम साबित भएको छ।