पोखरा महानगरपालिका वडा नम्बर १७ विरौटामा ०८२ जेठ ३ गते मानव अधिकार र महिला अधिकारसम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा इन्सेक गण्डकी प्रदेश, पोखराद्वारा आयोजित उक्त कार्यक्रममा ३९ जनाको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा इन्सेक गण्डकी प्रदेशका संयोजक शिव खकुरेलले मानव अधिकार र महिला मानव अधिकारका विषयमा सहजीकरण गर्नुभयो। महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका पूर्व अध्यक्ष सवनम शर्माले महिला अधिकारका पक्षमा सहजीकरण गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख सरला ढकालले लैंगिक हिंसा न्यूनीकरण र अनलाइन दुव्र्यवहारबाट जोगिने उपायहरूका बारे सहजीकरण गर्नु भएको थियो ।

पोखरा महानगरपालिका १७ का वडा सदस्य विक्रम गुरुङले जबसम्म सबै नागरिकहरु मानव अधिकार र कर्तव्यका बारेमा सचेत हुँदैनन् तबसम्म कुनै पनि समाज विकासको गतिमा अगाडी बढ्न सक्दैन । अझैपनि हाम्रो समाज भौतिक विकासलाई मात्र विकास हो भन्ने मानसिकताबाट गुज्रिरहेको अवस्था छ । तसर्थ यस्ता सचेतनामुलक कार्यक्रमबाट यस्ता खालका भ्रमहरुलाई तोड्न सकिन्छ, भन्ने धारणा व्यक्त गर्नुभयो । “पूर्वाधार विकासले मात्र विकास पर्याप्त हुँदैन,” उहाँले भन्नुभयो, “मानवीय विकास बिना समाजको विकास सम्भव हुँदैन ।” उहाँले हरेक नागरिकलाई आफ्नो अधिकार र कर्तव्यका विषयमा सशक्तीकरण र जागरुक बनाउनु पर्ने बताउनुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष टोपराज ढुंगानले समाजमा बढ्दै गइरहेको ज्येष्ठ नागरिक माथिको अपहेलना, लैंगिक हिंसा, मानव बेचबिखन र साइबर अपराधबाट सबैलाई जोगाउन नसकेमा समाजमा द्वन्द्वको सृजना हुन सक्नेतर्फ औल्याउदै समाज विकासका सम्भावना समेत नहुने स्पष्ट पार्नुभयो। तसर्थ अधिकारसँगै हाम्रा कर्तव्य पनि जोडिएर आउने हुँदा हामीले आफ्नो अधिकार उपभोगसँगै अरुको अधिकारलाई पनि सम्मान गर्नु नागरिकको कर्तव्य हो भन्दै यस्ता सचेतनामुलक कार्यक्रमहरुले समाज परिवर्तन गर्न मद्दत पुग्ने बताउनु भयो । कार्यक्रममा शिव बुद्धमार्ग टोल विकास संस्थाका अध्यक्ष मन शोभा गुरुङले समाजमा अहिले पनि महिला माथि विभिन्न खालका विभेद हुने गरेको बताउदै यस्ता कार्यक्रमहरुले हिंसा रोक्न फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

