राज्यका निर्णायक तहमा महिलाको नेतृत्व स्थापीत गर्न भन्दै ०८१ फागुन १९ गते महिला अधिकारकर्मीहरुले र्यालि निकालेका छन् । महिला मानव अधिकार रक्षक सञ्जाल सिन्धुलीको समन्वय र इन्सेक सिन्धुलीको सहकार्यमा कमलामाई नगरपालिका–७ बुद्धनगरचोक देखी सुरु भएको र्याली शिवनगर, दुई नमबर बजार, गैरी बजार, एक नमबर बजार, स्टल बजार हुदै जुनार चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
आगामी मार्च ८ तारिख मनाइने अन्तराष्ट्रिय महिला दिवसको पूर्वसन्ध्या पारेर आयोजना गरिएको र्यालिमा २०८४ सालमा हुने निर्वाचनमा महिलालाई प्रमुख पदमा पुर्याउनु पर्ने लगायतका नारा समावेश गरिएको थियो । कार्यक्रममा राजनीतिमा महिलाको पद हुने तर जिम्मेवारी नहुने अवस्थाको अन्त्य गर्नु पर्ने, पुरुष सरह समान अवसरको माग समेत गरिएको थियो ।

जु्नारचोकमा पुगेर र्याली कोणसभामा परिणत भएको थियो । कोणसभामा जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीले महिलालाई सधै उपमा नै राख्ने गर्दा महिलाका मुद्दाहरू किनारा लाउन नसकिएको बताउनुभयो । नीति र निर्णयक तहमा महिला नपुग्दा देशमा सुशासन आउन नसकेको, समतामुलक समाज निर्माण गर्न नसकिएको बताउनुभयो । अवको निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु अनुपम यात्राको अन्तिम लक्ष्य रहेकोमा यस अभियानमा महिला र महिला अधिकारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
अभियानकी सदस्य विन्दा ठटालले महिलाहरू २०८४ को चुनाव केन्द्रित हुनु पर्ने, महिला निर्णयक तहमा नपुगे सम्म महिलाका मुद्दाहरु ओझेलमा पर्दै आएकाले दलगत रुपमा भन्दा पनि महिला–महिला एक भएको शन्देश दिन यो यात्रा गरिएको बताउनुभयो । महिलाहरुको हक अधिकार, श्रम अधिकार, समान ज्याला, सुरक्षित कार्यस्थल, राजनीतिक सहभागितामा महिलाको नेतृत्व दिलाउन यो अभियान जारी रहेको बताउनुभयो ।
कोणसभामा महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष अप्सरा खड्काले महिला माथि हुने सवै किसिमका हिंसा, विभेद विरुद्ध आवाज उठाउदै राजिनीतिक तहमा महिलाको अर्थपूर्ण सहभागिताका लागि दवाव दिन सिन्धुलीमा देशव्यापी महिलावादी अनुपम अभिायन सुरु भएको बताउनुभयो ।
२०८४ सालको निर्वाचनमा विभिन्न राजनीतिक उद्देश्य प्राप्तीका लागि दलहरूले महिलालाई निर्णयक तहमा अवसर नदिने अवस्थाको अन्त्य गर्न, योग्यता र क्षमताका आधारमा महिलाले पनि समान अवसर पाउनु पर्ने खड्काले बताउनु भयो । र्यालिमा महिला अधिकारकर्मी, जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।