अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा गठित मानव अधिकार सहायता कक्षले ०८१ फागुन ९ गते हिंसा पीडित परिवारकी ३६ वर्षीया महिलालाई १० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेको र न्यायका लागि सहयोग पुग्ने उद्देश्यले आर्थिक सहयोग प्रदान गरिएको इन्सेक प्रतिनिधि दुर्गा परियारले बताउनु भयो ।
१७ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरी हत्या गरेको आरोपमा नवराजपुर गाउपालिका-१ का १९ वर्षीय रुपेश मण्डल, १८ वर्षीय चन्दन साह र १८ वर्षीय रामबिनय मण्डल र घटनालाई पञ्चहरूले मिलापत्र गरी दबाउन खोजेका आरोपितहरूविरुद्ध पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा ०८१ फागुन ८ गते पुरक उजुरी दिनुभएको छ ।
आरोपितहरूले ०८१ माघ २७ गते राती शौचालय गएकी छोरीलाई अपहरण गरी शरीर बन्धक बनाई सामूहिक बलात्कार गरेको र घटना बारे कसैलाई बताए ज्यान मार्ने धम्की दिएको मृतक बालिकाकी आमाले जानकारी दिनुभयो । छोरी बिहानको राती ३ बजे रुँदै घर आएको र घटनाबारे जानकारी गराएको उहाँले बताउनु भयो । पति रोजगारीको शिलशिलामा भारतको पन्जाबमा रहेको र घरमा आफू एक्लै रहेकोले घटनाको विषयमा गाउँकै केही भद्र भलादमीहरूलाई जानकारी गराउँदा उनिहरूले गाउँमै पञ्चायत बसी छलफल गरी पीडितलाई १ लाख ४० हजार रुपियाँ क्षतिपूर्ति दिनु पर्ने गरी मिलापत्र गराउँन खोजेको मृतककी आमाले बताउनु भयो । माघ ३० गते बेलुका “पतिको फोन आउँदा छोरीलाई घरमा एक्ले छोडी फोन गर्न गएँ र केही समय पछि घर फर्केर आउँदा घरको ढोका बन्द थियो । एक छिनसम्म छोरीलाई बोलाए । तर, कोठाभित्रबाट छोरीले कुनै प्रतिक्रिया नजनाएपछि घरभित्र पसेर हेर्दा छोरी झुण्डीएको अवस्थामा थियो । छोरीले आत्महत्या नगरी आरोपितहरूले हत्या गरी झुण्ड्याएको” उहाँले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी विष्णु प्रसाद सोतीले हामीले सूचना पाउँदा आत्महत्या गरेको पाएकोले सोही अनुसार प्रहरी परिचालन गरेको बताउनु भयो । घटनाको प्रारम्भिक अनुसन्धानमा दुरुत्साहन देखिएकोले फागुन १ गते आत्महत्या दुरुत्साहन शिर्षकमा उजुरी दर्ता गरेको डिएसपी सोतीले बताउनु भयो । अनुसन्धान पछि हत्या र बलात्कार साथै घटनालाई ढाक्छोप गर्न गाउँमा गउँकै केही मानिसहरू पञ्चायत बसी छलफल गरी पीडित परिवारलाई क्षतिपूर्ति स्वरुप १ लाख ४० हजार रुपियाँ दिनु पर्ने भनि मिलापत्र पनि गराउन खोजेको खुल्न आएकोले घटनाका मुख्य आरोपितहरू सहित पञ्चायत गर्नेहरू उपर पनि अपहरण गरी आफनो नियन्त्रणमा राखि सामूहिक तबरबाट बलात्कार गरी हत्या गरेको, पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्र समेत गर्न खोजेको अन्तर्गतको कसुरमा पुरक उजुरी लिएर अनुसन्धान शुरु गरेको उहाँले जानकारी दिनु भयो ।
घटनाका सबै आरोपितहरू फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी सोतीले बताउनु भयो । घटना शङ्कास्पद देखिएकोले शवको पोष्टमार्टम धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन ३ गते गरिएको डिएसपी सोतीले बताउनु भयो ।
इन्सेक मधेश प्रदेशका संयोजक राजु पासवानले हामीले घटनाको स्थलगत अनुगमन गरेका थियौ । पीडित परिवारको आर्थिक अवस्था एकदमै दयनीय रहेकोले तत्काल सहयोग गरेको बताउनु भयो ।