यूरोपियन युनियनको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार रक्षकका लागि ०८१ माघ २१ गतेदेखि नेपालगञ्जमा दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

उक्त कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै मानव अधिकार रक्षकहरूको हक अधिकार तथा सुरक्षामा राज्यको दायित्व रहेकोले तसर्थ मानव अधिकार रक्षकको भूमिका, कामको बारेमा स्पष्ट पार्नका लागि कार्यक्रमको आयोजना गरेको बताउनु भयो । उहाँले विगतका दिनदेखि निष्पक्ष ढङ्गले मानव अधिकारको क्षेत्रमा काम गर्दा मानव अधिकार रक्षकले थुप्रै समस्या चुनौती भोग्नुपरेको बताउनु भयो । उहाँले मानव अधिकार रक्षक विद्येयक २०६८ राष्ट्रिय मानव अधिकार आयोगमा पेश गरेको नेपालको संविधान २०७२ आएपछि सात ओटै प्रदेशमा मानव अधिकार रक्षकहरूको लागि विधयकका लागि प्रयास गर्दै आएको बताउनु भयो ।

इन्सेक लुम्बिनी प्रदेश कार्यालयका संयोजक भोला महतले मानव अधिकार रक्षकहरूका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्था तथा मानव अधिकार रक्षकको विषयमा सुरक्षाको दृष्टिकोण, मानव अधिकार रक्षकले काम गर्दा अपनाउनु पर्ने नीति नियम व्यवहारिकता बारे महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । साथै सावधानी तथा पालना गर्नु पर्ने दायित्व र अधिकारको बारेमा उहाँले बताउनु भएको थियो ।
एडभोकेसी फोरम लुम्बिनी प्रदेश कार्यालयका संयोजक अधिवक्ता बसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनील श्रेष्ठ र मानव अधिकारकर्मी सरस्वती मल्लले मानव अधिकार रक्षक सम्बन्धी, न्यायमा मानव अधिकार रक्षकको समस्या तथा चुनौतिका विषयमा सहजीकरण गर्नुभएको थियो ।


