नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व वार्षिक समीक्षा तथा काभ्रेपलाञ्चोक जिल्लामा मानव अधिकार अवस्था विषयक अन्तरक्रिया पुस १६ गते धुलिखेलमा सम्पन्न गरिएको छ ।
पनौती नगरपालिकाकी उपप्रमुख गिता बन्जाराले नेपाल मानव अधिकार वर्ष पुस्तकले समाजमा उल्लेखनीय योगदान दिएको चर्चा गर्दै बाढी पहिरोपछि समाजमा मानसिक समस्या देखिएकाले समुदायको सशक्तिकरण, सचेतना र सामाजिकीकरणमा जोड दिन आग्रह गर्नु भयो । उहाँले जिल्लामा घरेलु हिंसा र सम्बन्ध विच्छेदका घटना बढेको बताउँदै हिंसा र अपराधलाई न्युनिकरण गर्न आवश्यक रहेको थप्नु भयो ।

नेपाल बार एशोसियसनका अध्यक्ष हरिशरण दाहालले आर्थिक मन्दीका कारण समाजमा अनुचित लेनदेनका घटना बढेको र सामाजिक समस्यालाई छलफलका माध्यमबाट समाधान गर्न आवश्यक रहेको उल्लेख गर्नु भयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विनोद न्यौपानेले गम्भीर प्रकृतिका मानव अधिकार उल्लङ्घनका विषयलाई मेलमिलाप नभएर कार्वाहीको दायरामा लैजानु पर्नेमा जोड दिनु भयो । उहाँले वर्ष पुस्तकको आकार घट्नेगरी समाजमा सचेतनाका काम गर्न आवश्यक रहेको बताउनु भयो ।

मानव अधिकार सञ्जाल काभ्रेपलाञ्चोकका संयोजक भोजराज तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा तिमल्सिनाले समग्र जिल्लाको मानव अधिकार अवस्था उल्लेख गर्दै यस वर्ष मानव बाट वञ्चित भएका १ सय ६९ र घरेलु हिंसाका १ सय ८५ ओटा घटना इन्सेकमा अभिलेख भएको बताउनु भयो ।
बाढीपहिरो, आत्महत्या, बैंकिङ कसुर, अपराध र विपत्तिका घटनाका कारण मानव अधिकारको अवस्थामा कमजोरी आएपनि सचेतनाका माध्यमबाट न्यूनिकरण गर्न उहाँले जोड दिनु भयो । उहाँले घरेलु हिंसाका उजुरीमध्ये १ सय २५ थान मुद्दा मिलापत्र भएपनि ५९ जना निवेदन दिएपछि सम्पर्कमा नआएको बताउनु भयो ।
