समाचार सङ्कलनका लागि पुगेका जनता टेलिभिजनका दाङ सम्वाददाता दङ्गीशरण गाउँपालिका-२ का २५ वर्षीय गणेश आचार्यलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरका शाखा अधिकृत ४० वर्षीय नीमबहादुर वलीले माघ १८ गते दुर्व्यवहार गरेको पीडितले आरोप लगाए ।
अस्पतालमा योग्यता नपुगेका स्वास्थ्यकर्मी कार्यरत भएको विषयमा समाचार सङ्कलनका लागि गएका आचार्यलाई वलीले भिडियो खिच्न खोज्दा क्यामेरा खोस्ने प्रयास गरेको र कठालो समातेर आफ्नो कार्यकक्षबाट बाहिर धकेलेर कार्यकक्ष बन्द गरेको पीडित पत्रकारले बताए ।
अस्पतालको विषयमा नराम्रो समाचार प्रशारण गरेको भन्दै उनले दुर्व्यवहार गरेको पीडित पत्रकारले बताए । पीडितले आफूमाथि दुर्व्यवहार भएको भन्दै माघ १८ गते नै पत्रकार महासङ्घ दाङ शाखामा निवेदन दिएपछि नेपाल पत्रकार महासङ्घ दाङ शाखाले माघ १८ गते विज्ञप्ति निकालेर पत्रकारमाथिको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासङ्घका अध्यक्ष सविन प्रियासन र सचिव डिल्ली मल्लले सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने वा पाउने अधिकार जोसुकै नागरिकलाई भएको उल्लेख गर्दै स्वतन्त्र प्रेसको सम्मान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।