INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) गण्डकी प्रदेश कार्यालयको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस १४ गते सम्पन्न गरिएको छ । उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले मानव अधिकारको पूर्ण प्रत्याभूतिका लागि सबैले प्रयास गरेको बताएका छन् ।

कार्यक्रममा घरभपझोङ गाउँपालिकाका कार्यवाहक अध्यक्ष फलेन्द्रप्रसाद थकालीले राज्यबाट जनताले प्राप्त गर्नुपर्ने अधिकार प्रदानका लागि स्थानीय तहले कुनै कसर बाँकी नराखेको धारणा राख्नु भयो । उहाँले मानव अधिकार उल्लङ्घनका गम्भीर घटनाहरु जिल्लामा नभएको र सामान्य विवाद भएको खण्डमा स्थानीय स्तरमै समाधान हुने बताउनु भयो ।

नेपाल पत्रकार महासङ्घ मुस्ताङकी उपाध्यक्ष तृष्ण शेरचनले अधिकारको सन्दर्भमा बोल्नु पर्ने पत्रकारहरुको पोसा नै जोखिममा रहेको धारणा राख्नु भयो । उहाँले विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीले नै पारिश्रमिक नपाउने कारणले गर्दा अर्काको दुःख कष्ट उजागर गर्ने सन्दर्भमा समस्या झेल्नु परेको बताउनु भयो ।

photo20241231mustang

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले यहाँका जनताले आफ्नो समस्या आफैँ समाधान गर्न सक्ने भएकाले पनि घटनाहरु बाहिर नआएको बताउनु भयो । नागरिक सक्षम रहेको हुनाले पनि विवाद र झैझगडा नहुने गरेको बताउँदै उहाँले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु मुस्ताङमा नदेखिएको प्रष्ट पार्नु भयो ।

घरपझोङ गाउँपालिका-४ का अध्यक्ष यामप्रसाद थकालीले गाउँमा विवाद नहुँदा गाउँपालिकाको न्यायिक समितिले न्यायिक निरुपणको काममा समय दिनु नपरेको धारणा राख्नु भयो । ‘समस्या भएर गाउँपालिकामा आएको खण्डमा काम हुने हो । समस्या नभएरै होला कुनै उजुरी नै आउदैनन् त कसरी काम पाउनु ?’-थकालीले भन्नु भयो ।

मुस्ताङमा सन् २०२४ मा दुई ओटा घरेलु हिंसा र एउटा बलात्कार घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्यबहादुर बोगटीले जानकारी दिनु भयो ।

अन्य

भिडियो