कैलारी गाउँपालिकास्तरी मानव अधिकार समूहले कैलारी गाउँपािलकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीलाई ०८१ पुस ११ गते बिभिन्न मागराखि ध्यानाकर्षण—पत्र बुझाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयद्वारा गठित कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक हिंसा, जातीय छुवाछुतसम्बन्धीका समस्याहरू समाधानको लागि ध्यानाकर्षण–पत्र बुझाएको हो ।

ध्यानाकर्षण—पत्रमा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी र भौतिक पुर्वाधार हुनु पर्ने, समयमा शिक्षण कार्य पुरा गर्नु पर्ने, अनिवार्य रुपमा निःशुल्क शिक्षा हुनु पर्ने, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नु पर्ने, स्वास्थ्य संस्थाहरूमा नागरिक वडापत्र र सरकारले निःशुल्क रुपमा उपलब्ध गराउने ९८ प्रकारका औषधीहरूको नामावली राख्नु पर्ने उल्लेख गरिएको छ ।
यसैगरी बिरामी सङ्ख्याको अनुपातमा डाक्टर र भौतिक पूर्वाधार बढाउनु पर्ने, थारु समुदायमा देखिने सिकलसेल एमोनिया रोगको न्यूनीकरणका लागि पहल गर्नु पर्ने, फोहोर मैलाको उचित व्यवस्थापन गर्नु पर्ने, छाडा चौपायाको उचित व्यवस्थापन गर्नु पर्ने, जथाभाबी वन जङ्गल कटानी र नदीजन्य उत्खननलाई न्यूनीकरण गर्नु पर्ने, छाउपडी प्रथाको पूर्ण रुपमा अन्त्य गर्ने नीति ल्याउनु पर्ने, घरेलु हिंसा नियन्त्रण गर्ने नीति ल्याउनु पर्ने, लागु पदार्थ दुव्र्यसनी न्यूनीकरणको लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु पर्ने र जातीय छुवाछुत विभेदको अन्त्यका लागी पहल गर्नु पर्ने ध्यानाकर्षण—पत्रमा उल्लेख गरिएको छ ।
ध्यानाकर्षण—पत्र बुझ्दै गाउँपालिकाकी उपाध्यक्ष भगवतीकुमारी चौधरीले ध्यानाकर्षण —पत्रमा उल्लेख गरिएका मानव अधिकारका सवाललाई जति सक्दो चाँडो समाधान गर्न गाउँपालिका तत्पर रहेको बताउनु भयो ।
मानव अधिकारका आधारभूत आवश्यकताहरू पुर्ति गराउने उद्देश्यले स्थानीय समस्याहरू पहिचान गरी सम्बोधनको लागि गाउँपालिकालाई ध्यानाकर्षण–पत्र बुझाएको समूहका अध्यक्ष मानबहादुर चौधरीले बताउनु भयो ।
