अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ओखलढुङ्गाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर १९ गते सम्पन्न गरिएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा करिब १२ महिनाको अवधिमा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो ।
जिल्लामा सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३ सम्म मानव अधिकार उल्लङघन तथा ज्यादतीका ६१ ओटा घटनामा ६२ जना पीडित भएको इन्सेकको अभिलेखमाथि समीक्षा गरिएको छ ।
यस अवधिमा घरेलु हिंसा २५, बलात्कार २४, यौन दुव्र्यवहारका दुई, हत्याका पाँच, कुटपिट र यातनाका तीन, आत्महत्या दुरुत्साहनका एक र जातीय विभेदको एक गरि ६१ ओटा मानव अधिकार उल्लङ्घनका घटना अभिलेख भएको इन्सेकले जनाएको छ ।
मानव अधिकार उल्लङ्घनका घटनामा सबैभन्दा धेरै महिला पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ । ६१ ओटा घटनामध्ये चार जना मात्रै पुरुष पीडित छन भने बाँकी घटनामा ४४ जना महिला, १० जना बालिका र चार जना बालका पीडित छन् ।
समीक्षा कार्यक्रममा प्रमुख जिल्ला अधिकारी डाक्टर नारायण ढकालले मानव अधिकारको क्षेत्रमा इन्सेकले गर्दै आएको काम सहृानीय भएको बताउनु भयो । इन्सेकको दायरालाई फराकिलो बनाएर घटनालाई उजागर गर्नेसँगै न्यायिक निकायसम्म घटनाहरूलाई पुर्याउन थप सहयोग गर्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले प्रहरी र अदालतसम्म नपुगेको घटनाहरुलाई न्यायिक निकायसम्म पुर्याउन इन्सेकको अभियानमा सबै जुट्नुपर्ने बताउनु भयो ।
नगरपालिकाले मानवअधिकार संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।
कार्यक्रममा सिद्धिचरण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत निलकण्ठ विश्वकर्माले इन्सेकको प्रतिवेदनले नगरपालिका र समग्र जिल्लाको मानव अधिकारीको अवस्था जानकारी हुने भएकाले त्यसै अनुसार नीति तथा कार्यक्रम बनाएर काम गर्न सहज भएको बताउनु भयो ।
पीडितको मानव अधिकार हनन् नहोस भन्ने किसिमले आफूहरुले काम गरिरहेको जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता विश्वास सुनुवारले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले मानव अधिकारको सुनिश्चितताको लागि प्रहरीले निरन्तर भूमिका खेलिरहेको बताउनु भयो ।
कतिपय घटना प्रहरीसम्म आइनपुग्ने भएकाले समाजमा लुकेर रहेका मानव अधिकार उल्लङ्घनका घटना प्रहरी र न्यायिक निकायसम्म पुर्याउन सबैको प्रयास आवश्यक रहने उहाँले बताउनु भयो ।
ओखलढुङ्गा जिल्ला अदालत अदालतका तहसिलदार कल्याण खड्काले आफूहरु मानव अधिकारको संरक्षणको लागि प्रतिवद्ध रहेको बताउँदै इन्सेकका काममा आवश्यक समन्वय गर्ने बताउनु भयो ।
उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका शाखा अधिकृत कृष्णप्रसाद दाहालले जिल्लाको मानव अधिकार आवस्थाको बारेमा इन्सेक प्रतिवेदनबाट धेरै जानकारी प्राप्त भइरहेकाले आगामी दिनमा पनि घटनाको तथ्याङ्क सार्वजनिक गर्ने र खबरदारीमा पनि उत्तिकै जोड दिन आग्रह गर्नुभयो ।
समीक्षा कार्यक्रममा सहभागीहरुले आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारका सवालसँगै विकासका अधिकारलाई पनि समेट्न आवश्यक रहेको सुझाव दिएका छन् ।
समीक्षा कार्यक्रममा जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नागरिक समाज,पत्रकार, मानव अधिकारकर्मी लगायतको सहभागिता थियो ।


