घोडाघोडी नगरपालिकाका महिला तथा बालबालिका शाखा र इन्सेक लगायतका बिभिन्न संस्थाहरुको सयुक्त आयोजनामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत बाल अधिकार चेतना समूहले घोडाघोडी नगरपालिकामा मङ्सिर १७ गते जनचेतनामूलक सडक नटक प्रदर्शन गरेका छन् ।
‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने मुल नाराका साथ बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा विरुद्ध बाल अधिकार चेतना समूहले जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेका हुन् ।

घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावलले सडक नाटक समय सान्दर्भिक र समाजको यथार्थचित्रण गरेकाले नाटकले दिन खोजेको सन्देश सबैले आत्मसाथ गरी आआफ्नो घर परिवार तथा समाजमा लागु गर्न आवश्यक भएको र यसले बालविवाह, लैङ्गिक हिंसा र दाइजो प्रथाको न्युनीकरणमा सहयोग पुग्ने बताउनु भयो ।
इलाका प्रहरी कार्यालय, घोडाघोडीका इन्स्पेक्टर दिर्घ साउदले लैङ्गिक हिंसा पनि एक प्रकारको अपराधको स्वरुप भएकाले लैङ्गिक हिंसा गर्ने र गराउनेलाई प्रचलित कानुन बमोजिमको कसूरमा सजाय हुने बताउनु भयो ।
सिएमसि नेपालका प्रतिनिधि शुसिला चौधरीले घरेलु हिंसा मानसिक समस्याको एक स्वरुप रहेकाले मनोसामाजिक परामर्सका साथै कानुनी उपचारको आवश्यकता रहेको बताउनु भयो ।
