
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालयको आयोजना र फोरम एशिया नेपालको सहयोगमा २०८१ असोज ५ गतेदेखि धनुषाको ढल्केबरमा संस्थागत क्षमता विकास सम्बन्धी दुई दिवसीय तालिम सुरु भएको छ ।
फोरम एशिया नेपालद्वारा संचालित महिला, युवा तथा सीमान्तकृत समुदायहरूको सशक्तिकरणका लागि सवल सामुदायिक संस्थाहरू (ग्रो) परियोजना अन्तर्गत विभिन्न आठ ओटा संस्थाका प्रतिनिधिहरु तथा पदाधिकारीहरुलाई तालिम दिने योजना रहेको छ ।
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा फोरम एशिया नेपालका परियोजना मुल्याङ्कन अधिकृत विकास कोइरालाले दुई दिने तालिमको उद्देश्य तथा नागरिक समाज तथा सञ्चार परियोजनाको उद्देश्यमाथि प्रकाश पार्नु भएको थियो ।
यसैगरी इन्सेक केन्द्रीय कार्यालयका परियोजना फोकल पर्सन कृष्ण प्रसाद नेपालले यस परियोजनाबाट महिला, युवा तथा सीमान्तकृत समुदायहरूको संस्थागत क्षमता अभिवृद्धिका लागि महत्वपूर्ण भूमिका रहने विषयलाई समीक्षा गर्दै कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्नु भएको थियो ।
दुई दिने तालिमले मधेस प्रदेशका स्थानीय तहमा रहेका नागरिक संघ संस्था, महिला मानव अधिकारकर्मी, युवाहरू तथा स्वयम्सेवक समूहलाई विशेष गरी मानव अधिकार र नागरिक सहभागिता लोकतन्त्रको प्रवर्द्धन गरी क्षमता विकास तथा श्रोत साधन उपयोगमा मद्दत पुग्ने अपेक्षा रहेको उहाँले बताउनु भयो । इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले ग्रामिण तथा स्थानीय तहमा नागरिकका अधिकारका क्षेत्रमा कार्यरत दलित, महिला तथा सीमान्तकृत समुदायका संघ संस्थाहरूको संस्थागत क्षमता विकास आवश्यक रहेको बताउनु भयो ।
तालिमको सहजिकरण फोरम एशियाका परियोजना मुल्याङ्कन अधिकृत विकास कोइराला, इन्सेक केन्द्रीय कार्यालयका मानव अधिकार शिक्षा कार्यक्रमका फोकल पर्सन कृष्ण प्रसाद नेपाल, महिला अधिकारकर्मी श्याम कुमारी साह, दलित अधिकारकर्मी नथुनी मोची र इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले गर्नु हुनेछ ।
तालिमा विशेष गरी महिला, युवा तथा सीमान्तकृत समुदायको सशक्तिकरणका लागि केन्द्रीत रहेको हुँदा तालिममा संस्थाको सवल तथा दुर्वल पक्ष, चुनौती र अवसर जस्ता विषयमा सहजिकरण गरिने इन्सेक मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।
संस्थागत विकासका लागि लक्ष्य, उद्देश्य, रणानीति निर्माण तथा संस्थागत सुशासन र नेतृत्व सीपकलासम्बन्धी समूह कार्यले आगामि समयमा दलित तथा सीमान्तकृत समुदायमा कार्यरत स्वयम्सेवक र नेटर्वक लगायतका विभिन्न संरचनामा रहेका संस्थाहरूले आगामि समयमा श्रोत व्यवस्थापन गरी सोको प्रभावकारी परिचालन तथा व्यवस्थापन गर्न समेत यस तालिमले महत्वपूर्ण भूमिका राख्ने परियोजना फोकल पर्सन कृष्ण नेपालले बताउनु भयो ।
वर्तमान समयमा सामाजिक तथा आर्थिक विकासका विभिन्न सवालहरूलाई मानव अधिकारमैत्री विकासको अवधारणामा लैङ्गिकताका सवाल र सामावेशीकरण एक अभिन्न अङ्ग भएको हुँदा हरेक संघ संस्थाहरूमा यि विषयहरूलाई महत्वपूर्ण रणनीतिका रुपमा राख्नु पर्ने भएको हुँदा यस तालिमले संस्थाका पदाधिकारीहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुर्याउने राष्ट्रिय महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष श्याम कुमारी साहले बताउनु भयो । तालिम संस्थाको कार्य योजना निर्माण तथा आगामि योजनाहरूको बारेमा छलफल गरी दुई दिन सम्म चल्ने इन्सेक मधेस प्रदेश संयोजक पासवानले बताउनु भयो ।