
मानव अधिकार अभिलेख : घटना पहिचान, तथ्य सङ्कलन र प्रसारसम्बन्धी दुई दिवसीय तालिम जनकपुरधाममा असोज २ गतेदेखि सुरूआत भएको छ ।
कार्यक्रमको उद्घाटनका क्रममा इन्सेक अध्यक्ष डाक्टर कुन्दन अर्यालले नागरिक तथा राजनीतिक अधिकारका सवाल नेपालमा स्थापित भइसकेकाले इन्सेकले अब आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवाललाई नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत स्थापित गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष अर्यालले जलवायु परिर्वतनका कारण धेरै प्राकृतिक विपद्का घटना देखिएको र ती घटनामा मानव अधिकारका सवाल प्रत्यक्ष रूपमा आकर्षित हुने बताउनु भयो ।
आगामी दिनमा मानव अधिकार र जलवायु परिर्वतनसँगै पर्यावरणीय अधिकार नागरिकका मुद्दा भएकाले इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमार्फत अबका दिनमा वातावरणको अधिकारका सवाललाई अभिलेखीकरणसहित प्रसार गर्ने बताउनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयको आयोजना तथा मधेश प्रदेश कार्यालयको सहजीकरणमा आयोजित तालिममा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका इन्सेक जिल्ला प्रतिनिधिको सहभागिता रहेको छ ।
तालिममा इन्सेकको परम्परा र मानव अधिकार अभियानको कार्यदिशा, मानव अधिकार वर्ष पुस्तक र वातावरणको अधिकार, मानव अधिकार वर्ष पुस्तकको स्तरवृद्धिका लागि जिल्ला प्रतिनिधिको भूमिकालगायतका विषयका तालिम सुरूआत भएको मानव अधिकार अभिलेख तथा प्रसार विभाग प्रमुख मदन पौडेलले बताउनु भयो ।
कार्यक्रममा वातावरण विज्ञ डाक्टर दिनेशराज भुजुले वातावरण र मानव अधिकारका सवालमा सहजीकरण गर्नु भएको थियो ।



