नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा अभिलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादती घटनामाथि असार ३१ गते समीक्षा गरिएको छ ।
जिल्लामा सन् २०२४ को ६ महिनाको (०८० पुस १६ गते देखी ०८१ असार १६ गते) अवधिमा ६७ ओटा मानव अधिकारसँग सम्बन्धित घटना अभिलेख गरेको इन्सेकले जनाएको छ ।

इन्सेक जिल्ला प्रतिनिधिले प्रस्तुत गर्नु भएको अभिलेखका आधारमा सबैभन्दा बढी ४९ घरेलु हिंसा, बालिका बलात्कार ६, बालिका बलात्कार प्रयासका दुई, मानव बेचबिखनका दुई, बाल यौन दुर्व्यवहारका एक, परिवारजनबाट हत्या एक, महिला बलात्कार प्रयासका तीन, बहुविवाह तीन ओटा गरी ६७ ओटा मानव अधिकार उलङ्घनका घटना घटेका छन् ।
राज्य पक्षबाट एक जना र अन्य पक्षबाट ६६ ओटा मानव अधिकार उलङ्घनका घटनाको अभिलेख जिल्लामा भएको छ ।
समीक्षा कार्यक्रममा एसपी गोविन्दराज काफ्लेले मानव अधिकार उलङ्घन राज्य पक्षबाट भन्दा पनि अन्य पक्षबाट भएको विवरण इन्सेकले सार्वजनिक गरेको बताउँदै पीडितलाई न्याय दिने सवालमा आफू सदैव लागि पर्ने बताउनुभयो ।
इन्सेकले घटना अध्ययन तथा अभिलेखबाट जिल्लाको मानव अधिकारको अवस्था बारे जानकारी हुने बताउनुभयो । इन्सेकले घटनाको अनुगमन र त्यसको निरन्तर फ्लोअपले पीडितले न्याय पाउनमा सहयोग पुगेको बताउनुभयो ।
मानव अधिकार संरक्षणका लागि समुदाय स्तरमा सचेतना आवश्यक रहेकाले प्रहरीले विद्यालय स्तरमा सचेतनाका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
समीक्षामा एसपी गोविन्दराज काफ्ले, जिल्ला स्तरीय मानव अधिकार सञ्जालका संयोजक द्वारिका काफ्ले, गैर सरकारी संस्थाका प्रतिनिधि, पत्रकार, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
