बर्जु गाउँपालिकामा कोशी प्रदेशस्तरीय वातावरण संरक्षण र सम्वद्र्धनका लागि स्थानीय तहका नीति तथा कानून र त्यसको कार्यान्वयनको अवस्था विषयक छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको आयोजनामा वातावरण संरक्षण र सम्वद्र्धनका लागि स्थानीयतहका नीति तथा कानून र त्यसको कार्यान्वयनको अवस्था विषयक प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न गरिएको हो ।
वातावरणका सवालमा स्थानीय तहहरूले बनाएका कानून र तिनको कार्यान्वयनका अवस्थामा इन्सेकले कोशी प्रदेशका मोरङको रतुवामाई नगरपालिका र सुनवर्षी नगरपालिका र सुनसरीको कोशी गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सरोकारवालासँग छलफल गरेको छ ।
सुनसरी र मोरङका सरोकारवालाहरूलाई लक्षित गरेर वातावरण संरक्षणको प्रयासलगायतका विषयमा प्रदेशस्तरीय छलफल कार्यक्रम सम्पन्न गरिएको इन्सेक कोशी प्रदेश कार्यालय, कार्यक्रम फोकल पर्सन बागमती कट्टेलले बताउनु भयो ।
इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापाले वातावरण संरक्षणका स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारको नीति तथा कार्यक्रम के कस्तो अवस्थामा रहेको छ ? त्यसको कार्यान्वयन कुन चरणमा रहेको छ ? भन्ने बारेमा सरोकारवालाहरूसँग छलफल गरिएको बताउनु भयो ।
कार्यक्रममा साविक अमाहीबेलाहा गाविसका पूर्वअध्यक्ष बालेश्वर चौधरीले वातावरण संरक्षणका लागि सरकारको ऐन तथा नीति नियम बलियो हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बर्जु गाउँपालिकामा वृक्षारोपणदेखि उद्योगको फोहोर व्यवस्थापन, हाट बजारको फोहोर व्यवस्थापन, खुला दिशामुक्त क्षेत्र कार्यान्वयन र नागरिकको स्वास्थ्य तथा स्वच्छ हावापानीमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न जरुरी रहेको बताउनु भयो ।
सुरेन्द्र पेसकारले सरकारी कार्यालय, स्थानीय सरकार सहित सबै खालको कार्यक्रममा वातावरणलाई उच्च प्राथमिकता दिनुपर्ने बताउनु भयो । वातावरण संरक्षणका लागि एउटा रुख काट्दा त्यो ठाउँमा अर्को बिरुवा रोप्नुपर्ने, कुहिने र नकुहिने वस्तुलाई छुट्याएर व्यवस्थापन गर्नुपर्ने नीतिगत व्यवस्थाको लागि पहल गर्नुपर्ने, विपद व्यवस्थापन समितिलाई सक्रिय बनाउनु जरुरी रहेको बताउनु भयो ।
बर्जु गाउँपालिका-५ का बेचन मेहताले विगतमा भएको खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । नियम, नीति बनाएर कार्यान्वयन गरे मात्रै स्वछ र स्वस्थ वातावरण उपभोग गर्न पाउने बताउनु भयो ।
स्थानीय पार्वती चौधरीले डुबानको समस्या, स्थानीय हाट बजार व्यवस्थापनको समस्या र फोहर व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउनु भयो । त्यसैगरी अङ्कर सरदारले स्टन सुगर मिलको ध्वनी प्रदूषण, वायु प्रदूषण र जल प्रदूषण कारण आफूहरूलाई बस्न समेत समस्या भएको गुनासो गर्नुभयो । कार्यक्रममा ५० बढी सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
