
११४ औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सिरहामा रयाली तथा सम्मान कार्यक्रम गरी ०८० फागुन २५ गते समपन्न गरिएको छ ।
सिरहा नगरपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), मानव अधिकार संरक्षण केन्द्र सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जाल, ओरेक, मुक्ति नेपाल, दलित जनकल्याण युवा कल्ब, समग्र जनउत्थान केन्द्र, अपाङ्ग पुर्स्थापना केन्द्र, सहयोगि हातहरु, प्रदेश युवा सञ्जाल, जीवन ज्योती समाज, साथसाथ सिकाई सञ्जाल लगायत संघसंस्थाहरुको समन्वयमा सिरहाको लहानमा र्याली तथा सम्मान कार्यक्रम गरिएको हो ।
“महिलामा लगानी सभ्य सम्मुनत समाजको थालनी” भन्ने मूल नाराको साथ शुरु भएको दिवसको सम्मान कार्यक्रममा मुक्ति नेपालकी अध्यक्ष देवकुमारी महराले सन १८५७ को आन्दोलनले सार्थकता पाएर सन १९१० मा पाएको अधिकारले विश्व जगतमा श्रमिक महिलाहरुले अवसर र सम्मान पाए पनि नेपालमा सो किसिमको सम्मानहरु अझै नपाएको बताउनु भयो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सन १८५७ को आन्दोलनले विश्वका मुलुकहरुमा महिलाहरुले सममान पाए पनि एशियामा कम रहेको बताउनु भयो । नेपालमा महिलाहरुको अधिकारको दस्ताबेजको रुपमा नेपालको संविधान २०७२ रहेको र विभिन्न कानुनहरु रहेपनि कार्यान्वयनको पक्ष फितलो रहेको बताउनु भयो । बनेका कानुनहरु कार्यान्वयन गराउनु चुनौती रहे पनि सबैको सहकार्य र प्रयासबाट सम्भव गर्दै लैजानु पर्ने बताउनु भयो ।
त्यसै गरी, सिरहा नगरपालिकाका उपप्रमुख बबिता साहले महिला हिंसा रोक्न र महिलाहरुको हक हितको लागि सिरहा नगरपालकाले विभिन्न योजनाहरु ल्याएर काम गर्दै लगेको बताउनु भयो ।
कार्यक्रममा महिलाहरुले आफूले श्रम शिप गरेर व्यवसाय गरेका सिरहा नगरपालिकाका ५ जना महिलाहरुलाई प्रमुख जिल्ला अधिकारी र नगर उपप्रमुखले दोसल्ला र प्रमाण पत्र दिएर सम्मान गरेका थिए । सम्मान हुनेहरुमा निर्मला ठाकुर, पिंकी साह, समुन्द्री साह, जुरनी देवी मुखिया र जगतारैन दास रहेका थिए ।
कार्यक्रममा सिरहाका एसपी सन्तोष आचार्य, शसस्त्रका एसपी, संघसंस्थाका अधिकारकर्मीहरु, संचारकर्मीहरु लगायत महिलाहरुको सहभागिता रहेको थियो ।

