अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाको समन्वयमा साउन ३० गते पाँचौ मानव अधिकार राष्ट्रिय कार्य योजनासम्बन्धी छलफल कार्यक्रम तातोपानी गाउँपालिकामा सम्पन्न भएकाे छ ।
छलफल कार्यक्रममा तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले मानव अधिकार संरक्षण र प्रवर्धनमा जोड दिने प्रतिबद्धता जनाउनु भएको छ ।
सामाजिक न्यायका लागि आर्थिक सामाजिक तथा शैक्षिक दृष्टिले पछाडि परेका वर्ग समुदायकाे संरक्षण तथा सशक्तिकरण गर्ने लगायतका लक्ष्य उद्देश्य रहेका छन् । कार्ययोजना कार्यन्वयन समितिको ६/६ महिनामा एक पटक तथा आवश्यकता अनुसार बैठक बस्ने र समितिमा प्रतिवेदन जिल्ला समन्वय समिति पेश गर्ने उहाँले बताउनु भयो ।
यस अघि औपचारिक बैठक नबसेपनि मानव अधिकार संरक्षणका सवाल, सडक मानवको उद्दार लगायतका गतिविधिमा सक्रियता पुर्वक काम गर्दै आएको उहाँकाे भनाइ छ ।
उहाँले भन्नुभयोे, “नेपाल सरकारकै पाँचौ कार्ययोजना भएपनि स्थानीय तहसम्म जानकारी आएन । स्थानीय तहमा मानव अधिकार संरक्षणका गतिविधि बढाइनेछ ।” मानव अधिकार संरक्षणका विषयहरु अपेक्षित रुपमा पेचिलो बन्न सकेका छैनन् । राज्यले समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्रिय आकांक्षानुसार अझै नागरिक गाँस बाँस र कपासको पहुँचमा पुग्न नसकेकोले यस तर्फ सबैको ध्यान दिन जरुरी छ ।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग जुम्लाका निमित्त कार्यालय प्रमुख धनराज शाहीले राष्ट्यि मानव अधिकार प्रथम देखि पाँचौ कार्ययोजनाका लक्ष्य उद्देश्यमाथि प्रकाश पार्नु भयो । दिगो विकासका १७ ओटा लक्ष्य शिक्षा, स्वास्थ्य, रोजगार, पोषण, लगायत गाँस, बाँस र कपासको ग्यारेन्टी राज्यले गरी मानव अधिकारको प्रत्याभुति भएको हुनुपर्ने, समृद्ध नेपाल, खुसी नेपाली राष्ट्यि आकांक्षालाई पुरा गर्न मानव अधिकारका सवाल पनि पेचिलो हुनु पर्ने जानकारी दिनु भयो ।
प्रथमदेखि पाँचौ कार्ययोजना भएका विभिन्न गतिविधिको जानकारी दिदै आयोगका निमित्त प्रमुख शाहीले ०६१/६२ देखि प्रथम कार्ययोजना सुरु भइ हाल पाँचौ कार्ययोजना ७७/७८ देखि ८१/८२ सम्म कार्यान्वयन अवस्थामा रहेको छ ।
पाँचौ कार्ययोजनामा मानव अधिकारको संरक्षण र सम्वर्धन गर्दै विधिको शासन कायम गर्ने, मानव अधिकार प्रत्याभूति गरी समृद्ध नेपाल, खुसी नेपालीको राष्ट्यि आकांक्षा साकार गर्ने, मानव अधिकारमैत्री संरचना तथा व्यवहारमा कार्यान्वयन भएको हुनुपर्ने उल्लेख छ ।
छलफल कार्यक्रमबाट तातोपानी गाउँपालिकामा पाँचौ मानव अधिकार राष्ट्यि कार्ययोजनाको कार्यान्वयन समितिको छलफल भएको र समितिले गरेको कार्यसम्पादन जिल्ला स्तरीय कार्ययोजना कार्यान्वयन समितिलाई प्रतिवेदन पेश गर्ने निर्णय भएको इन्सेक जुम्लाका प्रतिनिधि मानदत्त रावलले बताउनु भयो ।
कार्यक्रममा तातोपानी गाउँपालिका कार्ययोजना कार्यान्वयन समितिमा उपप्रमुख रेवती रावल, निमित्त प्रमुख प्रशासकीय अधिकृत अंगराज डाँगी, वडाध्यक्षहरु पत्रकार लगायत सरोकारवाला निकायको लगायतकाे सहभागिता रहेको थियो ।

