जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रमा सन् २०१७ मा दर्ता भएका घरेलु हिंसाका २० प्रतिशत मुद्दाहरू मात्र मिलापत्र भएको छ । ०७३ पुस १७ देखि ०७४ पुस १६ गतेसम्म केन्द्रमा दर्ता भएका घरेलु हिंसाका २ सय ८३ ओटा उजुरीमध्ये ५५ ओटामा मिलापत्र भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
एक वर्षमा परेका उजुरीमध्ये चार ओटा उजुरीमा कानुनी प्रकृया अगाडि बढेको केन्द्रकी इञ्चार्ज इन्स्पेक्टर सुजता तुम्वाहाम्फेले जानकारी दिइन् । मिलापत्र हुन नसकेका कतिपयले अदालतमा कानुनी प्रक्रिया अगाडि बढाएको र अधिकांश उजुरीका निवेदकहरू निवेदन दिएपछि पुनः सम्पर्कमा नआएको इन्स्पेक्टर तुम्वाहाम्फेले बताइन् । यसरी पुनः सम्पर्कमा नआएका निवेदकहरूले प्रहरी कार्यालयमा उजुरी दिएपछि गाउँ, घरपरिवारमा मिल्न दबाव सृजना भई गाउँघरमा नै छलफल गरी सहमति गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
घरेलु हिंसाका २ सय ८३ ओटा उजुरीमध्ये कुटपिट गरी घरनिकाला गरिएका ४७ ओटा, खानलाउन नदिएको ४७ ओटा, विवाह दर्ता तथा नागरिकता नबनाएको ११ ओटा, अर्को श्रीमती ल्याएर हेला गरेको ३० ओटा, दाइजोका कारण कुटपिट गरिएका ११ ओटा छन् भने सामान्य झै-झगडाका १ सय ३७ ओटा घटना छन् ।
सन् २०१६ मा घरेलु हिंसा पीडित भएको भन्दै ३ सय ३८ महिलाले उजुरी दर्ता गराएकोमा प्रहरीले १ सय ९१ ओटामा मिलापत्र गरायो भने सात उजुरीमा कानुनी प्रक्रिया अघि बढायो ।
जसमा कुटपिट गरी घर निकाला गरिएका ३९, खान/लाउन नदिएको ६१, विवाह दर्ता र नागरिकता नबनाएको ७१, अर्की श्रीमती ल्याएर हेलाँ गरेको ४० र सामान्य घरायसी झगडाका १ सय २७ ओटा घटना थिए ।
सन् २०१५ मा घरेलु हिंसाका कारण पीडित भएको भन्दै ९३ जना महिलाहरूले उजुरी दर्ता गराएकोमा ५० ओटा घटनामा मिलापत्र भएको थियो । सन् २०१४ को अवधिमा घरेलु हिंसाका ८० ओटा उजुरी परेकोमा ४६ ओटामा मिलापत्र भएको थियो ।