अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ मा नुवाकोटबाट समेटिने घटनाको पूर्व वार्षिक समीक्षा पुस १२ गते सम्पन्न भएको छ ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठले जिल्लामा २०२२ जनवरीदेखि डिसेम्बरसम्म इन्सेकले अभिलेख गरेको घटनाको विवरण प्रस्तुत गर्नु भएको थियो ।
जसमा बलात्कारका १५ ओटा, बलात्कार प्रयासका ६ ओटा, हत्याका सात ओटा, बहुविवाहका चार ओटा, मानव बेचविखन एक ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले मानव अधिकारको संवर्द्धन गर्नको लागि सरकारी निकायहरू चनाखो हुनु पर्ने बताउनु भयो ।

प्रजिअ रिसालले मानव अधिकारको क्षेत्र फैलिँदै गएको र विकास, वातावरण, कृषि लगायतका क्षेत्रका अधिकारलाई स्थापित गराउन राज्यको स्रोतसाधान अभावले समस्या सिर्जना गरेको बताउनुभयो ।
उहाँले समुदायस्तरमा हुने गरेको महिलामाथि हुने हिंसाका घटनाहरू कानुनी उपचारको लागि आउन नसकेकोले स्थानीय तहहरूले पीडितहरूलाई कानुनको पहुँचमा ल्याउन भूमिका खेल्नु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता टेकराज भुसालले पीडितको क्षतिपूर्ति सहितको न्याय र प्रतिवादीको आधारभूत अधिकारबाट वञ्चित हुन नदिई काम गरिरहेको बताउनुभयो ।
उहाँले राज्यले न्यायमा सबैको पहुँच होस् भनेकोले न्यायमा सबै वर्गको समान पहुँचको लागि सरकारी निकायसँगै नागरिक समाज र सङ्घसंस्थाहरू पनि क्रियाशील हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले पीडित होस्टाइल हुने कारणले गर्दा न्याय प्रभावित हुने गरेको बताउनुभयो ।
उहाँले पहिले पीडित भएँ भनेर आउने र पछि होइन भन्दा मुद्दा कमजोर हुने र पीडकको पक्षमा फैसला हुने गरेकोले पीडितलाई होस्टाइल हुनबाट रोक्ने सरोकारवाला सबैले ध्यान दिनु पर्ने बताउनुभयो ।
नेपाल बार एसोसिएसन नुवाकोटका सहासचिव गरिमा पाण्डेले मानव अधिकारको क्षेत्रका इन्सेकको तथ्याङकको प्रशंसा गर्दै मानव अधिकार हननका घटना न्युनीकरण गराउन अधिकारको विषयमा सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष कपिलदेव खनाल, गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष गोकर्ण नेपाल, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष मुकुन्द नेपाल लगायतले आआफ्ना भनाई राख्नु भएको थियो ।
