INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारसँग पाँचबुँदे सहमतिपछि डा. केसीले अनशन तोडे

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका प्रा. डा. गोविन्द केसीले पुस २९ गते अनशन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल अगाडि जुत्ता सिउँदै आएका सिरहाका नथुनिया मोचीले जुस पिलाई अनशन तोडाएका हुन् । सरकारसँग पुस २८ गते राति पाँचबुँदे सहमति गरेपछि उनले अनशन तोडेको बताए ।

अनशन तोड्दै उनले न्यायालय न्याय विक्री गर्ने ठाउँ हुन नहुने बताउँदै प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म न्याय हुन नसक्ने आरोप लगाए । सो अवसरमा डा. केसीले प्रधान न्यायाधीश पराजुलीले राजिनामा नदिए पुन अनशन बस्ने बताए ।

पदावधि रहुञ्जेल अब डा. जगदीशप्रसाद अग्रवाल नै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) को डिन रहने भन्दै प्रा. डा. केसीले चार दिनका लागि ‘माफिया र भ्रष्ट’लाई डिन बनाइएको आरोप लगाए ।

सर्वोच्च अदालतले आइओएमको डिनबाट बर्खास्तीमा परेका डा. शशि शर्मालाई चार वर्षपछि गत आइतबार पुनर्बहाली गर्न आदेश दिएको थियो । प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले शर्माको पक्षमा फैसला सुनाएपछि केसी त्यसको विरोध गर्दै पुस २४ गतेदेखि १४ औँ पटक अनशन बसेका थिए ।

डिन नियुक्तिसम्बन्धी अदालतको फैसलाविरुद्ध अभिव्यक्ति दिएको भन्दै डा. केसीलाई अदालतको आदेशमा पुस २४ गते प्रहरीले शिक्षण अस्पतालबाट गिरफ्तार गरेको थियो । पुस २५ गते अदालतमा उनको बयान भएकोमा पुस २६ गते दुवै पक्षका अधिवक्ताहरूले बहस गरेका थिए ।

न्यायधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले उनलाई तारेखमा छाड्न पुस २६ गते आदेश दिएको थियो । रिहाइ भएपछि पनि उनी पुनः अनशन बसेका थिए ।

अन्य

भिडियो