अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित “स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” इएलपी परियोजना अन्तरगत राजविराज नगरपालिकामा पुस २० गते शिक्षा अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीबिच शिक्षाको अधिकारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा इन्सेकका सदस्य बैद्यनाथ झाले इन्सेकद्वारा सञ्चालित परियोजनाले शिक्षाको समस्या पहिचान गरी त्यसको सम्बोधनका लागि स्थानीय सरकारलाई सहयोग गरिरहेको बताउनु भयो ।
राज्यको लगानी प्रशस्त भएपनि सामुदायिक विद्यालयहरूको गिर्दो अवस्थाप्रति स्थानीय तह, अभिभावक र शिक्षक गम्भीर बन्नुपर्ने र समस्या सम्बोधन गर्नुपर्ने बताउनु भयो ।
प्रधानाध्यापक अरुणकुमार झाले विद्यालयमा कम्प्युटर शिक्षक नरहेको स्वीकार गरेपनि भौतिक विकास र पढाइका लागि जिल्लामै एक नम्बर रहेको दावी गर्नु भयो ।
शिक्षक डल्लीकुमारी सिंहले विद्यालयमा रहेको कम्प्युटर ल्याबका लागि नियमित बजेट आए पनि शिक्षक नभएको जानकारी दिनु भयो ।
शिक्षक सुमित्रा दासले विद्यालयमा अभिभावकहरूको निगरानी नरहेको, खाजाको व्यवस्था रहे पनि मेनुको अभावले सधै चिउरामुरही खुवाउने गरेको बताउनु भयो ।
शिक्षक निता यादवले विद्यालयमा व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ नरहेको जानकारी दिनु भयो ।
अनमी निलमकुमारी यादवले आफूलाई स्वास्थ्य सरसफाई कक्षाभन्दा अन्य विषय पढाउन पठाउने गरेको गुनासो गर्नु भयो ।
विद्यार्थी अम्बिका झाले भौतिक र आर्थिक रूपले सम्पन्न भए पनि विद्यालयमा स्वच्छ खानेपानीको अभाव रहेको र शौचालय फोहोर र दुर्गन्धित रहने गरेको बताउनु भयो ।
अर्का विद्यार्थी रूपा कर्णले सेनेटेरी प्याड व्यवस्थापनको समस्या रहेको र सरसफाइकर्मी दैनिक नआउने गरेको बताउनु भयो ।
अभिभावक राजकुमार यादव र अनीतादेवी भगतले समय अभावका कारण विद्यालय आएर निगरानी गर्न नसकेको कमजोरी स्विकार्दै आगामी दिनमा ध्यान दिने प्रतिबद्धता जनाउनु भयो ।
निगरानी समूहका सदस्य एवम् पत्रकार दिनानाथ यादवले नगरपालिकाले पठाएको म्याद गुज्रिएको जीवनजल खाल्डोमा गाड्नु परेको जानकारी पाएको बताउँदै समस्या सम्बोधनका लागि विद्यालय प्रशासनले चासो दिनुपर्ने र स्वास्थ्यकर्मी सक्रिय हुनुपर्ने बताउनु भयो ।
करिब ९ सय विद्यार्थी पढ्ने विद्यालयमा दुई अनमी, तीन बालविकास शिक्षक गरी २४ जना शिक्षकहरू कार्यरत रहेका छन् ।
विद्यालयमा प्रदेश सरकार र स्थानीय तहबाट गरी दुई जना अनमी स्वास्थ्यकर्मीको व्यवस्था रहे पनि विद्यालयमा स्वास्थ्य सामग्री र स्वास्थ्य सेवाको अभाव रहेको सहभागीहरूले बताए ।


