INSEC Online

📅 २०८३ जेष्ठ २१

मलको हाहाकारपछि मानव अधिकार निगरानी समूहको ध्यानाकर्षण

आक्रोशित किसानहरूको गुनासो सम्बोधन गर्न माग गर्दै इन्सेकद्वारा गठित नगरस्तरीय मानव अधिकार निगरानी समूह राजविराजले मङ्सिर २९ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा ज्ञापनपत्र बुझाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, जिल्ला सहकारी सङ्घका कार्यालयहरू निरीक्षण, अनुमगन र किसानहरूसँगको छलफलपछि समूहले ज्ञापनपत्र बुझाएको समूहका अध्यक्ष रघुबर साहले बताउनु भयो ।

गहुँबालीको रोपाइँको समय सकिन लाग्दा समेत मलको अभावका कारण खेत बाँझै रहने स्थिति देखिएकाले आपूर्ति बढाउन र विक्री वितरण प्रणाली पारदर्शी, व्यवस्थित र सहज बनाउन समूहले माग गरेको छ ।

सरोकारवाला कार्यालय र डिलर रहेका सहकारी संस्थाहरूको वितरण प्रणाली अनुगमन गर्न र कालाबजारी गर्नेलाई कारवाही गर्न समेत समूहले माग गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मागभन्दा निकै कम मल आपूर्ति भएकाले अभाव सृजना भएको बताउनु भयो ।

सप्तरीका लागि चाहिनेभन्दा एक चौथाई कम मल प्राप्त भएकाले थप मल ल्याउन पहल गरेको उहाँले बताउनु भयो ।

समूहले कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्रप्रसाद यादव, कृषि सामग्रीका निमित्त प्रमुख सोनेलाल मुर्मु, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्ले र साल्ट ट्रेडिङका सहायक शम्भु साहसँग समेत भेट गरी प्राप्त मल वास्तविक किसानसम्म पु¥याउन आग्रह गरेको छ ।

कृषि सामग्रीका प्रमुख मुर्मुले सप्तरीलाई ३ हजार मेट्रिक टन आवश्यक रहेकोमा ७८३ मेट्रिक टन डिएपी मल प्राप्त भएको जानकारी दिनुभयो । जसमध्ये ७६० मेट्रिक टन सहकारी संस्थामार्फत विक्री वितरण भइसकेको उहाँले बताउनु भयो ।

जिल्ला आपूर्ति समितिको मङ्सिर २९ गतेको बैठकले सूचिकृत सहकारी÷डिलरलाई छुट्याएर बाँकी मौज्दात रहेको ८ सय बोरा मल राजविराजस्थित चार ओटा सहकारीमार्फत प्रति किसान २५ किलोका दरले वितरण गर्ने निर्णय गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख यादवले जानकारी दिनु भयो ।

सप्तरीका एसपी काफ्लेले मल गोदाममा राखी किसानलाई नदिने, कालाबजारी गर्ने, महङ्गोमा विक्री गर्ने बारे सूचना दिन आग्रह गर्दै त्यस्तालाई कारवाही गर्ने प्रतिबद्धता जनाउनु भयो ।
समूहको टोलीमा इन्सेक सदस्य बैद्यनाथ झा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, समूहका कोषाध्यक्ष पुनम पोखरेल, सदस्यहरू राधा अर्याल, सीतादेवी यादव, पुनिता कर्ण र सहजकर्ता दिपक यादव रहनु भएको थियो ।

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको समूहले किसानसँग छुट्टै अन्तरक्रिया गरेर मलको अवस्थाबारे जानकारी लिएको छ ।

विभिन्न स्थानीय तहबाट मल खोज्दै सदरमुकाम आएका किसानहरू मल नपाएर चिन्तित र आक्रोशित भएको राजविराज नगरपालिका–१६ का सत्यनारायण मण्डलले बताउनु भयो ।

छलफलमा किसानहरूले गहुँ रोपाइँको समय सकिन लाग्दा समेत मल नपाएको बताएका छन् । अधिकांश किसानहरूले गाउँका डिलरहरूले पहुँच हुनेलाई मात्र मल दिने गरेको आरोप लगाए ।

एक बोरा डिएपी मलका लागि दिनभर कुर्दा समेत खाली हात फर्किनु परेको भन्दै राजविराज नगरपालिका–१ का सुरेश यादवले डिलरहरूले मल लुकाएर महङ्गोमा बेच्ने गरेको आरोप लगाउनु भयो ।

मल लुकाएर नदिएको भन्दै आक्रोशित बनेका किसानहरूले मङ्सिर २९ गते राजविराज नगरापलिका–२ स्थित कृषि सामग्रीको गोदामको ताला तोडफोड गरेका छन् ।

उनीहरूले राजविराजस्थित तेतरीगाछी, जिल्ला प्रशासन कार्यालय अगाडि टायर बालेर विरोध प्रदर्शन समेत गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार प्राप्त १ हजार ३ सय २० मेट्रिक टन युरिया मलमध्ये १ हजार १ सय ६८ मेट्रिक टन र ७ सय ८३ मेट्रिक टन डिएपी मलमध्ये ७ सय ६० मेट्रिक टन विक्री वितरण भइसकेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड राजविराजले साउनदेखि ६ हजार ५ सय बोरा डिएपी, ११ हजार ५ सय बोरा युरिया, ५ हजार बोरा एमोनियम सल्फेट, १ हजार २ सय ५० बोरा पोटास, १ हजार ५ सय बोरा एसएसपी, ५ हजार २ सय बोरा एसएसपी बोरन र २ हजार बोरा एसएसपी जिङ्क विक्री वितरण गरेको सहायक शम्भु साहले जानकारी दिनु भयो ।

photo20211216saptari (1)

photo20211216saptari (2)

photo20211216saptari (3)

photo20211216saptari (4)

photo20211216saptari (5)

f

f

f

photo20211216saptari (9)

photo20211216saptari (10)

अन्य

भिडियो