INSEC Online

📅 २०८३ जेष्ठ २१

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि जिल्लामा सङ्कलन गरिएको मानव अधिकार उल्लघङ्न र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व असार २७ गते राजविराजमा अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको छ ।

इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सन् २०२१ को जनवरीदेखि जुनसम्मको अवधिमा महिला र बालबालिका हिंसाका घटना बढी अभिलेख गरिएको छ ।

इन्सेकको तथ्याङ्कमा ६ महिनाको अवधिमा ५५ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सङ्कलन गरिएको छ ।

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नु भएको प्रतिवेदन अनुसार यस अवधिमा डाक्नेश्वरी नपा–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवको बलात्कार गरी हत्या गरेको आरोपमा १९ वर्षीय छिमेकी रोहितकुमार यादव असार ६ गते गिरफ्तार भएको घटना निकै चर्चामा रह्यो ।

डाक्नेश्वरी नपा–३ हटेल पुवरीया टोलस्थित शिवनाथ यादवको फूलबारीमा पीडितको हँसियाले घाँटी काटेर हत्या गरेको अवस्थामा असार ४ गते शिवानीको शव फेला परेको थियो ।

पहिलो पटक मिर्गौला बेचबिखनको एउटा घटना बाहिर आएको छ । वैशाख २७ गते गिरफ्तार आरोपित सुरुङ्गा नपा–१ नैनडाबरका ३५ वर्षीय काले भनिने रमेश विश्वकर्मा मानसिक र शारीरिक रूपमा बिरामी रहेकाले जेठ ४ गते जमानीमा रिहा भएको प्रहरीले जनायो । प्रहरीका अनुसार मुख्य आरोपितको पहिचान खुलेको छैन ।

बालिका बलात्कारका १२ घटनामा ५ वर्षदेखि १७ वर्ष उमेर समूहका १३ जना पीडित भएका छन् । आरोपितमा १५ वर्षदेखि ७१ वर्ष उमेर समूहका १३ जना छन् ।

आरोपितमध्ये बुबासहित चार जना पुर्पक्षका लागि थुनामा छन्, ६ जना फरार, एक बालक अभिभावकको जिम्मामा र एक जना धरौटीमा रिहा भएका छन् । एउटा उजुरी दर्ता भएको छैन ।

महिला बलात्कारका ६ घटनाका आरोपितमा दुई जना फरार, दुई जना धरौटीमा र दुई जना जमानीमा रिहा भएका छन् ।

यो ६ महिनाको अवधिमा अन्यपक्षबाट दुई पुरुषको कुटपिटमा हत्या भयो । जसमा आठ जना पुरुष आरोपित रहे । आरोपितमध्ये एक घटनाका चार जना पुर्पक्षका लागि थुनामा छन् भने एउटा घटनाको अनुसन्धान भइरहेको छ ।

यो ६ महिनामा बाल यौन दुव्र्यवहारका तीन घटनाका आरोपितमध्ये एक जना बालसुधार गृहमा छन्, एक जना असार ८ गते गिरफ्तार भएका छन् भने एउटा उजुरी दर्ता छैन ।

१४ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा असार १५ गतेदेखि एक जना आरोपित थुनामा छन् । यो ६ महिनाको अवधिमा हुनै लागेको एउटा बालविवाह रोकिएको छ भने अर्को एक बालविवाहमा जेठ १६ गते पाँच जना आरोपितविरूद्ध म्यादी पुर्जी जारी भएको छ ।

महिला बलात्कार प्रयासका ६ घटनामा दुई जना धरौटीमा रिहा भए भने दुई जना गिरफ्तार भएका छैनन् र दुई जनाले उजुरी दिएनन् ।

एक महिलाको आत्महत्या दुरुत्सानमा उनका पति असार ७ गते ६० हजार रुपियाँ धरौटी राखी रिहा भए ।

बहुविवाहका चार ओटा घटनामा पाँच जना आरोपितविरूद्ध म्यादी पुर्जी जारी भएको छ भने तीन जना धरौटी राखी रिहा भएका छन् ।

एक महिलाको गर्भपतन गराएको आरोपमा जिल्ला अदालतले पाँच जनालाई जनही ३० हजार रुपियाँ धरौटी लिई पुर्पक्षका लागि रिहा गरेको छ ।

भौतिक संरचना, सम्पत्ति क्षति अन्तर्गत चार घटनामा दुई आरोपित धरौटीमा र एक जमानीमा रिहा भएका छन् ।

आरोपित एक जनालाई म्यादी पुर्जी जारी भएको छ भने पाँच जना गिरफ्तार भएका छैनन् । अन्य पक्षबाट यातनाका एक, थुनाका एक, कुटपिट/दुर्व्यवहारका चार, घरेलु हिंसाका पाँच घटना अभिलेख गरिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश चन्द्रमणी ज्ञवालीले आ–आफ्नो क्षेत्रबाट मानव अधिकार संरक्षणमा जिम्मेवार भूमिका निर्वाह गर्न इन्सेकले प्रेरित गरेको बताउनु भयो ।

मानव अधिकार हनन्का घटना कम गर्न तथा शीघ्र र सुलभ न्यायमा पहुँच पुर्‍याउन सबैको सतर्कता जरुरी रहेको ज्ञवालीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले पदीय व्यक्तिमा आफूलाई विशेष ठान्ने मानसिकता र सर्वसाधारणमा चेतनाको अभाव ठूलो समस्याका रुपमा रहेको बताउनु भयो ।

सबै जना जनताप्रति जबाफदेही हुनुपर्ने भन्नुहुँदै उहाँले शिक्षा र चेतना तल्लो तहसम्म पुर्‍याउने आवश्यक्तामा जोड दिनु भयो ।

जनता सचेत नभएसम्म परिवर्तन असम्भव रहेको भन्नुहुँदै राजविराज नगर उपप्रमुख साधना झाले मानसिकतामा परिवर्तन नल्याई यथार्थ समस्या राखेर मात्र परिवर्तन नहुने दावी गर्नु भयो ।

श्रेस्तेदार कुुमार मास्केले निःशुल्क शिक्षा र स्वास्थ्य, सुरक्षा, स्वच्छ वातावरणमा बस्न पाउने र सुगम बाटोमा हिँड्न पाउने संवैधानिक हक कार्यान्वयनमा सरोकारवालको ध्यानाकृष्ट गर्नु भयो ।

जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल, एसपी राजेन्द्रप्रसाद धमला, नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले हिंसा नियन्त्रणका लागि समन्वय र सहकार्यका साथ सबैको भूमिकालाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो ।

photo20210711saptari (1)

photo20210711saptari (2)

photo20210711saptari (3)

photo20210711saptari (4)

अन्य

भिडियो