INSEC Online

📅 २०८३ जेष्ठ २१

खाद्य अधिकारका सवालमा सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

“स्थानीय समुदायलाई सचेत बनाउँदै जिम्मेवार निकायलाई जवाफदेही बनाउने ”(इएलपी) परियोजना अन्तरगत धनपालथान गाउँपालिकामा माघ १८ गते खाद्य अधिकारका सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह धनपालथानको संयोजनमा गाउँपालिकामा सरोकारवालाहरूबिच खाद्य अधिकारको सवालमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नसिमा बानुले गाउँपालिकाले कृषि तथा पशु सेवा सम्बन्धी कार्यक्रमलाई प्राथमिकतामा राखेको र थप आकर्षक कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रममा सहभागी चन्द्रकुमार सरदारले गाउँपालिकाले वितरण गरेको गहुँको बिऊको उमार शक्ति राम्रो नभएकाले यस वर्ष किसानले नोक्सानी व्योहोर्नु परेको बताउनु भयो । उहाँले गाउँपालिकाले बिऊ विजन वितरण गर्दा उमार शक्ति राम्रो भएको विऊ मात्र किसानलाई दिन आग्रह गर्नु भयो ।

कार्यक्रममा कृषि शाखा प्रमुख ओमप्रकाश सिंहले मानव अधिकार निगरानी समूहले खाद्य अधिकारका सवालमा गाउँपालिकाभित्र रहेका समस्याहरूलाई सूचीबद्ध गरी कृषि शाखामा दिएकोमा खुशी व्यक्त गर्नु भयो ।

उहाँले गाउँपालिकाले गर्नुपर्ने कार्य इन्सेक र मानव अधिकार निगरानी समूहले गरेकाले यसले किसानलाई फाइदा पुगेको बताउनु भयो ।

पश शाखा प्रमुख कमलप्रसाद तिम्सिनाले जनप्रतिनिधिहरूले पशुपालक किसानका समस्या टड्कारो रूपमा उठाउन नसक्दा समस्या भएको बताउनु भयो ।

उहाँले सङ्घीय सरकारले पशु बीमा लागि ७५ प्रतिशत रकम सरकारले व्योहोरी दिने भएकाले सबै किसानले पशु बीमा गर्न आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा किसान अनिता मण्डलले मानव अधिकार निगरानी समूहले समयसमयमा भेला भएर विषयगत शाखा प्रमुखहरूसँग भेट गराउँदा आफ्ना समस्या किसानले राख्न पाएको बताउनु भयो ।

कार्यक्रममा मानव अधिकार निगरानी समूह धनपाल अध्यक्ष कृष्णप्रसाद राजवंशीले मानव अधिकार समूहले किसानका समस्यलाई जनप्रतिनिधिसमक्ष पुर्याउने भएकाले कृषकलाई सहयोग पुगेको बताउनु भएको थियो ।

Photo 20210121 Morang (1) Photo 20210121 Morang (2) Photo 20210121 Morang (3)

अन्य

भिडियो