INSEC Online

📅 २०८३ जेष्ठ २१

समस्या पहिचान र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न

कोशी गाउँपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने” पहल कार्यक्रम अन्तरगत असोज ५ गते समस्या पहिचान र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न भएको छ ।

मानवअधिकार समूह कोशीका सदस्य, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, खाद्य  र आवासको अधिकार सम्बन्धी समस्या पहिचान, सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना समेत निर्माण गरेको छ ।

बैठकले कोभिड–१९ का कारण शिक्षा स्वास्थ्य, खाद्य र अवासको अधिकारका सवालमा पारेको असरहरूको विश्लेषण गरेको छ । कोभिड–१९ ले बालबालिकाको शिक्षामा पारेको असरका विषयमा अन्तरक्रिया गर्ने, कोभिडका कारण दीर्घरोगी तथा अन्य रोगीहरूको उपचारमा समस्या देखिएकोले उनीहरूको उपचारका लागि पहल गर्ने, बन्द रहेको विद्यालयलाई स्वास्थ्यमा सुरक्षासहित सञ्चालनमा ल्याउने, कृषिका लागि सहयोग र अनुदानमा पहल लगायतका कार्ययोजनाहरू बनाइएको छ । कार्यक्रममा कोशी गाउँपालिका अध्यक्ष ऐयुव अंसारी, प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र गिरी, वडाध्यक्ष विन्देश्वर यादव, रामचन्द्र महतो, अनिम मियाँ नेपाली, सुलेमान मंसुरी, राजकुमार साह र कावा वडा अध्यक्ष द्रोपती साह र इन्सेक प्रतिनिधि जयकृष्ण यादव सहितको सरोकारवालाहरूले समस्या प्रति गम्भीर रहेको र सो समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभयो ।

त्यसैगरी कोशी गाउँपालिकाका किशोरी तथा महिलाहरूले स्यानेटरी प्याड स्वास्थ्य संस्थाहरूमार्फत निःशुल्क वितरण गर्नुपर्ने माग गरेका छन् । महिला र किशोरीहरूको लागि स्यानेटरी प्याड निःशुल्क रूपमा उपलब्ध गराउनु पर्ने गीता पौडेलले माग गर्नुभयो । स्वास्थ्यसँग जोडिएको र सरसफाईमा योगदान गर्ने भएकाले स्यानेटरी प्याड निःशुल्क उपलब्ध गराउनुपर्ने मानव अधिकार समूह कोशीकी अध्यक्ष अनिता उराँवले माग गर्नुभयो । उराँवले महिला तथा किशोरीका लागि निःशुल्क स्यानेटरी प्याडसँगै हाटबजार र चौकमा महिला मैत्री शौचालय समेत निर्माण गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

कोशी गाउँपालिकाका करोकारवालाहरूले किसानका लागि सहज मल विउको व्यवस्था गर्नुपर्ने किसान पवन रौनियारले माग गर्नुभयो । बन्दाबन्दीले मारमा परेका किसानलाई सहज मल उपल्बध नगराएको र सीमापारीबाट ल्याएको मल समेत नष्ट गर्ने गरेकाले किसानहरू समस्या परेको बताउनु भयो ।

कोशी कै स्थानीयले सुकुम्बासी समस्या समाधान गर्नुपर्ने समेत माग गरेका छन् । कोशी बाढी प्रभावित क्षेत्रमा सयौ सुकुम्वासी बस्तीमा आवासको समस्या समाधान गर्न आग्रह अन्तरक्रियामा सहभागीहरूले माग गरेका छन् । सुकुम्बासी समस्या समाधान गर्न वसोबास गर्दै आएको ठाउँमा धनी  पुर्जा दिनुपर्ने, दुइ कोठा भवन निर्माणमा सहयोग गर्नुपर्ने, सुकुम्बासीका छोरा छोरीको उच्च शिक्षा अध्ययनका लागि सहयोग गर्नुपर्ने, सुकुम्बासीको परिवारमा एक जनालाई रोजगारी दिनुपर्ने र सुकुम्बासी बस्तीमा विजुली व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

Photo 20200921 Sunsari (1) Photo 20200921 Sunsari (2) Photo 20200921 Sunsari (3) Photo 20200921 Sunsari (4) Photo 20200921 Sunsari (5) Photo 20200921 Sunsari (6) Photo 20200921 Sunsari (7) Photo 20200921 Sunsari (8) Photo 20200921 Sunsari (9) Photo 20200921 Sunsari (10)

अन्य

भिडियो