अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २८ गते भानु नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका मेयर उदयराज गौलीले प्रत्येक टोल टोलमा छलफल गरी वडाबाट आफ्ना जनताको आवश्यकता र चाहना अनुरुपका योजनाहरु छनोट गर्दै आएको बताउनुभयो ।
तनहुँको भानु नगरपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखी योजना छनौट गरेको नगरपालिकाले जनाएको छ । उहाँले योजना छनौट गर्दा शिक्षा र स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता दिन अनुरोध गरिएको बताउनुभयो ।
शिक्षा र स्वास्थ्यमा लगानी गर्दा त्यसले दिर्घकालिन रुपमा जनताहरुलाई लाभ हुने हुँदा नगरपालिकाले त्यसलाई नै प्राथमिकतामा राखेको मेयर गौलीले बताउनुभयो ।
कार्यक्रममा नगरपालिका उपमेयर आशा थापाले स्थानीय सरकारप्रति जनताका अपेक्षाहरु धेरै भएकाले एकै पटकमा सबै पुरा नहुँने बताउनुभयो ।
प्राथमिकताका आधारमा पहिला पुरा गनुपर्ने आवश्कता र बिस्तारै गरे पनि हुने बीच तालमेल मिलाएर क्रमिक विकासमा नगरपालिका लागी परेको उहाँको भनाइ थियो ।
कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डेले शिक्षा, स्वास्थ्य, खाद्य र आवास जनताका प्रमुख आवश्कयता भएकाले यस सम्बन्धी योजनाहरुलाई विशेष प्रथामिकता दिएको बताउनुभयो ।
नगरपालिकाको पहिलो पटकको बजेट भौतिक पुर्वाधारमा मात्र समिति भएपनि अहिले शिक्षा, स्वास्थ्यको क्षेत्रमा पनि राम्रो बजेट छुट्याएको उहाँले बताउनुभयो ।
नगरपालिका भित्रका सबै ६० वटा सामुदायिक विद्यालय र २ वटा नगरस्तरीय अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।
८४ वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परिक्षण, प्रत्येक हप्ता निःशुल्क स्वास्थ्य परिक्षण, डोर टु डोर नर्सिङ सर्भिस लगायतका स्वास्थ्य सम्बन्धी लोकप्रिय कार्यक्रम सञ्चालन गरेको पाण्डेले जानकारी दिनुभयो ।
कृषिमा हाल देखिने गरी कार्यक्रम नभएपनि विभिन्न किसिमका अनुदान वितरणका कार्यक्रम गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
आर्थिक, सामजिक तथा सांस्कृतिक अधिकार अन्तर्गत शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालमा स्थानीय तहको सेवा प्रदानको अवस्था र सेवाग्राहीको आवश्यकता सम्बन्धमा जानकारी को लागि सो कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा सहभागीहरुले स्वास्थ्य केन्द्रमा औषधीको उपलब्धता, उत्पादन र बजारीकरणमा समस्या भएको, शिक्षाको अनुगमन, तालिम पर्याप्त नभएको र औपचारिकतामा मात्र समित भएको, तालिम लक्षित वर्गसम्म नपुगेको, दलित बस्तीहरुमा छिटो विवाहको समस्या, विषादी परिक्षण प्रविधिको आवश्यकता रहेको र अनुदान पनि लक्षित वर्गसम्म नपुगेको, पशु प्राविधिकहरुको अभाव भएको लगायतका विषयमा जिज्ञासा राख्नुभएको थियो ।
सो कार्यक्रममा उठेका सवालहरुमा प्रसाशकीय अधिकृत पाण्डे, स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई पशु तथा कृषि शाखा प्रमख खिमकुमार श्रेष्ठले जवाफ दिनुभएको थियो । मानव अधिकार समुह भानुका संयोजक कृष्णराज धमनियाको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।