तनहुँको बन्दिपुर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासलाई महत्वपुर्ण मानेर नीति तथा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले बन्दिपुरमा आयोजना गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धमा स्थानीय तहको नीतिगत व्यवस्था र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष पुर्णसिंह थापाले शिक्षा, स्वास्थ्य, खाद्य र आवास नागरिकको मौलिक अधिकारको विषय भएको हुँदा स्थानीय तहले मौलिक अधिकारको प्रत्याभुती हुने गरि नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले गाउँपालिकाले शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखी योजनाहरु निर्माण गरेको बताउनुभयो ।
उहाँले जबसम्म नागरिक स्वस्थ र शिक्षित हुँदैन तबसम्म विकासका जतिसुकै पुर्वाधार बनाएपनि त्यो उपलब्धिमुलक नहुने बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले सबै संघ संस्था र सरोकारवालाहरुसँगको सहकार्यमा शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी सापकोटाले गाउँपालिकाले सञ्चालन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी कार्यक्रम र नीतिहरुको बारेमा जानकारी गराउँदै सो कार्यक्रम सफल पार्न सम्पुर्ण गाउँपालिकावासीको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
मानवअधिकार निगरानी समूहकी सदस्य दिलकुमारी रानाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बन्दिपुर गाउँ कमीटीकी अध्यक्ष विद्या क्षेत्रीले इन्सेकले सञ्चालन गरेको कार्यक्रम निकै राम्रो र उपलब्धिमुलक हुने भन्दै यसमा राजनीतिक दलको पनि पुर्ण सहयोग हुने बताउनुभयो ।
इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवास सम्बन्धी अधिकारबारे स्थानीयबासीलाई जानकारी गराउँदै सरोकारवालाहरुलाई उक्त अधिकार प्रत्याभूतिकोलागि दबाब सिर्जना गर्ने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।


