शिक्षा क्षेत्र सुधारकालागि शिक्षक अभिभावकबीच सहकार्य आवस्यक रहेको एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छन् । इन्सेक रूपन्देही र शुद्धोधन गाउँपालिकाको आयोजनामा पुस २२ गते आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक अन्तरक्रिया कार्यक्रममा शुद्धोधन गाउँपालिका–४ का अध्यक्ष राजेन्द्र प्रसाद कँडेलले उक्त कुरा बताउनु भएको हो ।
शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले शिक्षा क्षेत्र सुधारकालागि व्यक्तिको मानसिकतामा परिबर्तन आउनुपर्ने बताउदै सामुदायिक विद्यालयका अभिभावकहरू जागरुक हुन आवस्यक रहेको बताउनु भयो ।
फर्साटिकर मावि, शिक्षक अभिभावक संघका अध्यक्ष डालप्रसाद डुम्रेले विद्यार्थीहरूलाई नैतिक शिक्षाका बारेमा जानकारी दिन आवस्यक रहेको बताउनु भयो । शिक्षक महासंघ शुद्धोधनका गापाका अध्यक्ष खिमानन्द भुसालले संविधानले निशुल्क शिक्षा भनेर मौलिक हकमै व्यवस्था गरेको भए पनि अहिलेसम्म शिक्षा ऐन नबन्दा समस्या भएको बताउनु भयो । अभिभावक सुजता शर्माले शिक्षामा सुधार गर्नका लागि घरपरिवारबाटै सुधार गर्नुपर्ने बताउनु भयो ।
भगलापुर माविका प्राध्यानाध्यापक कृष्ण प्रसाद भुसालले सामुदायिक विद्यालयमा पढने अधिकांश विद्यार्थीहरु गरिब परिवारका भएकोले नियमित विद्यालय नआउने बताउनु भयो । सरकारले बालमैत्री शिक्षण सिकाईको कुरा गरेपनि व्यवस्थापन नहुँदा समस्या भएको भुसालले बताउनु भयो ।
मानव अधिकार समूहका उपाध्यक्ष कपिल अर्यालले नागरिकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सहज रुपमा उपभोग गर्न नपाएको बताउदै स्थानीय तहले अनुगमन गर्नुपर्ने बताउनु भयो ।मानवअधिकार समूहका सदस्य दुर्गा प्रसाद खनालले शिक्षकहरू शिक्षण पेशा भन्दा पनि राजनीतिलाई बढी महत्व दिएका कारणले पनि शिक्षाको गुणस्तर खस्किदै गएको आरोप लगाउनु भयो ।