नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यक्रम सल्यानमा सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले जिल्लामा बालविवाहको समस्या अझै कायमै रहेका कारण न्यूनीकरण गर्न सबै पक्ष जुट्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाकी उपप्रमुख सावित्रा बस्नेतले बालविवाहले किशोर किशोरीको स्वास्थ्यमा समेत असर पु¥याउने भन्दै बालविवाह न्यूनीकरण अभियानमा इन्सेकसँग सहकार्य गरेर नगरपालिकाले चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
कम उमेरमा विवाह र किशोरी उमेरमा आमा बनेपछि शारीरिक र मानसिक रूपमा समस्या बढ्नुका साथै त्यसले विभिन्न हिंसा सम्बन्धी घटनाहरू घटाउने हुँदा पनि बालविवाह न्यूनीकरण आवश्यक रहेको उपमेयर बस्नेतको भनाइ थियो ।
कार्यक्रममा बोल्दै सल्यानका प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपानेले मानवअधिकारको विषय वृहत् रहेको बताउँदै व्यक्ति अनुसार मानव अधिकारप्रतिको बुझाइ पनि फरक फरक हुने बताउनुभयो ।
इन्सेकले मौलिक हकका सम्बन्धमा राज्यलाई घच्घच्याउने काम गर्नु महत्वपुर्ण रहेको बताउँदै वर्ष पुस्तकमा समेटिएका हुने घटनाले जिल्लाको मानव अधिकारको अवस्थाको चित्रण गर्न सहज बनाउने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी न्यौपानेले इन्सेकले घटना अभिलेखिकरण गर्नुका साथै जिल्लामा देखिएको बालविवाहको समस्यालाइ न्यूनीकरण गर्न अभियान सञ्चालन गर्नुपर्ने समेत बताउनुभयो ।
ज्ञानेश्वर केसीले जिल्लामा बालश्रमको विषयमा पनि सरोकारवालाहरूले ध्यान दिनु पर्ने बताउनु भयो । जिल्लामा बालबालिकाहरू बढी जोखिममा रहेको बताउँदै केसीले बाल विवाह र बालश्रमलाई न्यूनीकरण गर्ने अभियान नै जिल्लामा आवश्यक रहेको बताउनुभयो ।
महिला मानव अधिकार रक्षक सञ्जाल, सल्यानकी अध्यक्ष सोविता बस्नेतले नेपाल मानव अधिकार वर्ष पुस्तकमा सम्बन्ध विच्छेदका घटनाहरूका कारण सहित घटना पनि समावेश गर्नुपर्ने बताउनु भयो ।
उहाँले बालविवाहले सम्बन्ध विच्छेदका घटना निम्त्याउने भएकाले सरोकारवालाहरूको ध्यान सो तर्फ पनि जानुपर्ने बताउनुभयो ।
पार्ड नेपाल सल्यानका प्रतिनिधि दोर्णकुमार यरीले राज्यले निःशुल्क र अनिवार्य शिक्षा पाउने भनेर मौलिक हकमा उल्लेख गरेपनि व्यवहारमा भने लागु नभएको बताउनु भयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले २०१९ को जनवरीदेखि डिसेम्बरसम्म सङ्कलन गरिएका घटनाहरू सरोकारवालामाझ राख्नुभएको थियो ।
जसमध्ये हत्याका दुई, गिरफ्तारीका १०, बाल अधिकार हनन् अन्तर्गत् १५, महिला अधिकार हनन् अन्तर्गत् ३१, सम्पत्ति क्षतिसम्बन्धी तीन, जातीय विभेदसम्बन्धी दुई र शिक्षाको अधिकारसम्बन्धी दुईओटा घटना लगायत रहेका छन् ।




