अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा असार १७ गते काठमाडौँ महानगरपालिका-१४ कलङ्कीमा भूकम्पपछिको पुनर्निर्माणको अवस्था विषयक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा भूकम्पपछि लाभग्राहीको नामावली सङ्कलनमा ३ सय ७२ जना रहेकामा पहिलो किस्ता प्राप्त गर्नेमा ३ सय ६१ जना लाभग्राही छन् ।

पहिलो किस्ताबाट दोस्रो किस्ता लिनेमा ५४ रहेको र तेस्रो किस्ता लिनेको सङ्ख्या ११ जनाको रहेको जनाइएको छ ।
कार्याक्रममा भूकम्पपछिको पुनर्निर्माणका लागि आएको रकम बैङ्कमा रहेको भएपनि अझै पहिलो किस्ता नलिने सबैलाई असार मसान्तसम्ममा सबै किस्ता लिन भूकम्प प्राधिकरणबाट खटाइएका इन्जिनियर गणेश ठकुल्लाले जानकारी दिए ।

सामान्यतया भूकम्पपछिको पुनर्निर्माणमा नक्सा पासको समस्या सर्वसाधारणमा सबैभन्दा बढी रहेको भएपनि समस्या समाधान गर्नमा पूर्ण रूपमा प्रतिबद्ध रहेको वडा नम्बर १५ की वडा अध्यक्ष शोभा सापकोटाले बताइन् ।
भूकम्प जानु अगावै नै कित्ता छुट्याइसकेका घरहरू र नक्सा पासमा समेत पुनः इन्जिनियरहरू सँगको परामर्श लिई केही जरिवानासहित निवेदन दिएमा उनीहरूको समस्या समेत समाधान हुँदै पुरै किस्ताको रकम प्राप्त गर्न सकिने इन्जिनियर ठकुल्लाले जानकारी गराए ।
कार्यक्रममा सुरेश पाण्डेले सरकारले दिने भनेको सहुलियतपूर्ण ऋण सुविधा र नक्सा पासमा दिने भनिएको सुविधातर्फ ध्यानाकर्षण गराए ।
उनले भने-‘गरिबले नक्सा नै बनाउन नसकेपछि घर कसरी बन्छ ? त्यसैले सरकारले दिने भनेको ऋण सुविधामा बैङ्कहरूले पनि सहयोगी भूमिका नखेलेका हुन् ।’