अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा असार १२ गते लिबाङमा सम्पन्न भएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि माधव ओलीले ६ महिनाको अवधिमा सङ्कलन गरेका नागरिक तथा राजनीतिक अधिकारसँगसम्बन्धित ६ ओटा, राज्य पक्षबाट धम्की एउटा, महिला अधिकारको एउटा, बाल अधिकार एउटा र अभिव्यक्ति स्वतन्त्रताको एक गरी १० ओटा घटनाको विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढाले आफ्नो अधिकारको प्रयोग गर्दा कर्तव्यको पनि ख्याल गर्नुपर्ने बताए ।
इन्सेकका साधारण सदस्य घनश्याम आचार्यले विगतदेखि नै इन्सेकले राज्य र विद्रोही पक्षबाट हुने मानव अधिकार उल्लङ्घनका घटनालाई निष्पक्ष रूपमा विश्लेषण गरी अभिलेखिकरण गरेकाले अहिलेपनि राज्यलाई सचेत गराउने र संविधान मान्दैनौ भन्ने पक्षबाट हुने मानव अधिकार हनन्का घटनालाई अभिलेख गर्ने बताए ।
देशमा राजनीतिक परिवर्तन गर्न रोल्पाको महत्वपूर्ण भूमिका भएता पनि नेता र नेतृत्वको व्यवहार परिवर्तन हुन नसकेको उनको भनाई छ । रोल्पाका जनप्रतिनिधिले नमूना काम गरेर उदाहरण प्रस्तुत गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रमका सहभागिहरूले केही घटना छुटेकाले समेट्न सुझाव दिएका थिए ।

माधवकुमार ओली