अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सदरमुकाम खलङ्गामा असार ९ गते सम्पन्न भएको छ ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दिनेशकुमार श्रेष्ठले २०१९ जनवरीदेखि हालसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका २२ ओटा घटना प्रस्तुत गरेका थिए ।
जसमध्ये राज्य पक्षबाट तर्फ दुई, अन्य पक्षबाट हत्या प्रयास एक, कुटपिट तथ धम्की एक, बलात्कार, बलात्कार प्रयास र यौन दुर्व्यवहार नौ, बहुविवाह तीन र घरेलु हिंसाका ६ ओटा घटना रहेका छन् ।

जिल्ला अदालत जाजरकोटका श्रेष्तेदार देवीराम भण्डारीले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन नागरिक सचेतना कार्यक्रम प्रभावकारी बनाउनु पर्ने बताए ।
समीक्षा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केशरबहादुर कार्कीले गाउँघरमा विभिन्न किसिमका जघन्य अपराधहरू हुने र गाउँमै मिलाउने प्रचलन रहेकाले सुरक्षा चुनौती रहिरहने बताए ।
सशस्त्र प्रहरी बल डिएसपी सन्तोषवीर सिंहले मुद्दा असफल हुनुमा अनुसन्धान फितलो हुनु, प्रमाण नष्ट हुनु र आरोपितको बयान बलियो बनाइनु मुख्य कारण रहेको बताए ।
कार्यक्रममा पत्रकार रेशम खड्काले मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन स्थानीय तहमा गठन भएको न्यायिक समितिले विभिन्न किसिमका सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै घटनालाई लुकाउने र गाउँटोलमै मिलाउने प्रवृत्तिलाई निरूत्साहित गर्न सबै क्षेत्रबाट पहल हुनुपर्ने बताए ।
दिनेशकुमार श्रेष्ठ